झापामा आजदेखि निषेधाज्ञा, जोर–बिजोर प्रणाली लागू

भद्रपुर, झापा । झापामा आजदेखि निषेधाज्ञा लागू भएको छ । यसलाई सेमी लकडाउन मानिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी गरेको आदेशमा अत्यावश्यक काम बाहेक सर्वसाधारणले घरबाहिर निस्कन नपाइने उल्लेख छ ।
आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषेधाज्ञा वैशाख २६ गते राति १२ बजेसम्म लागू हुनेछ ।
सिनेमा हल, स्विमिङ पुल, सामूहिक खेलकुद, पुस्तकालय, जिमखाना, पार्टी प्यालेस, सैलुन र ब्युटी पार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ ।
निषेधाज्ञामा यातायातमा जोर–बिजोर लगाइएको छ र सरकारी कार्यालयसहित बैङ्क र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराइएको छ ।
कोभिड–१९ को बढ्दो महामारी नियन्त्रण गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिस अनुसार निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञा पालना गराउन जिल्लामा उल्लेख्य प्रहरी परिचालन गरिएको छ । पहिलो दिन भएकोले निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीहरूलाई नियन्त्रणमा लिएर सम्झाएर छोड्ने गरिएको छ भने सोही सवारीसाधनले पुनः नियम उल्लङ्घन गरे कारबाही गरिने बताइएको छ ।
अहिलेसम्म निषेधाज्ञा प्रभावकारी देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्