कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन अर्थमन्त्री पौडेलको अनुरोध

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यति बेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नुभएको छ ।
कोभिड–१९को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो ।
‘कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितमा अघिल्लो पटक कोभिड–१९ का बेलाका सिकाइहरूलाई समेत आधार मान्दै अघि बढेका छौँ’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८–७९ बजेटका सम्बन्धमा दिएका सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाई जित्नुको विकल्प नरहेको बताउनुभयो ।
जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड १९ विरुद्धको खोप ल्याइ नागरिकहरूलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिनुभयो ।
सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरू, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैङ्क तथा सहकारी, लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्