डडेलधुरामा बिहानै देखि निषेधाज्ञा

डडेलधुरा । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि डडेलधुरामा आज बिहानै देखि निषेधाज्ञा जारी गरिएको छ ।
आज बिहान ६ बजे देखि २५ गते राति १२ बजे सम्म निषेधाज्ञा लागू गर्ने निर्णय जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले गरेको थियो ।
एक साताको लागि गरिएको निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, दुग्धजन्य पदार्थ बोकेका सवारी, बैङ्क तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।
खाद्य सामाग्रीका पसलहरू बिहान ८ बजेदेखि बिहान ११ बजे सम्म र दिउँसो ४ बजे देखि बेलुका ६ बजे सम्म मात्र खोल्न पाइने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । ‘निषेधाज्ञाका समयमा अति आवश्यक कामकाज बाहेक हिँडडुल गर्न पाइने छैन ।
निषेधाज्ञाको अवधिभर औषधी पसल, खाद्य पसल तथा सामाग्री बाहेक अन्य पसल सबै बन्द रहनेछन् । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृत लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।
नेपाल सरकारका कर्मचारी, बैङ्क वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । निषेधाज्ञा जारी गरे सँगै सरकारी कार्यालय समेत आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्