तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी एफसी शीर्ष स्थानमा

काठमाडौँ । काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलमा धनगढी एफसी चितवनलाई हराउँदै शीर्ष स्थानमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।
धनगढीका तर्फबाट निशान लिम्बु, बुद्ध बल तामाङ र ओलावाले आफिजले एक एक गोल गर्नुभएको थियो ।
खेलको ६४ औँ मिनेटमा निशानको गोलबाट धनगढीले १–० को अग्रता बनाउन सफल भयो भने खेलको ६९ औँ मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए । त्यतिन्जेलसम्म पनि चितवनका तर्फबाट कुनै पनि गोल हुन सकेन । खेलको ८० औँ मिनेटमा पुन धनगढीकै लागि बुद्ध बलले गोल गर्दै जित दिलाए ।
शनिवारको खेलको प्लेयर अफ दि म्याच धनगढीकै निशान लिम्बु चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच पनि धनगढीकै बुद्ध बल तामाङ चुनिए भने उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे ।
जितसँगै धनगढीले ४ खेलमा ७ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । धनगढीको यो दोस्रो जित हो भने यसअघि पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३–० ले पराजित भए पनि दोस्रो खेलमा काठमाडौँ रेजर्सलाई ३–० ले हराउँदै धनगढीले जित निकालेको थियो ।
तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
चितवनको भने यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अङ्क जोडेको छ । चितवनले पहिलो खेल ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button