झापाका सीमा क्षेत्रमा सशस्त्रको ४४ फरवार्ड पोष्ट थपिए, पाँच पालिकामा सेनाको सचेतना

भद्रपुर, झापा । झापामा भारतसँगको १ सय ४४ दशमलव २ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको छ ।
सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएकोमा यसपालि ३१ वटा पोस्ट थपिएका छन् ।
कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।
झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन् । सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ ।
यसैबीच, कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकवल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ थापाले बताउनुभयो ।
गत वर्ष पनि कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकवल गाउँपालिकामा परिचालन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्