संसारका वैभव र प्रतिष्ठा मजदुरको श्रम र पसिनाको जगमा ठडिएका हुन् : मुख्यमन्त्री पौडेल

वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको वैभव र प्रतिष्ठा मजदुरहरूको श्रम र पसिनाको जगमा ठडिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मई दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले अझै पनि मजदुरको आत्मसम्मान र प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै प्रोत्साहनका लागि आवश्यक कार्यक्रमको व्यवस्था गर्नुपर्ने आवश्यक देखिएको बताउनुभयो ।
सन्देशमा भनिएको छ, “संसारको वैभव र प्रतिष्ठा मजदुरहरूको श्रम र पसिनाको जगमा ठडिएका हुन्, मई दिवसले तिनै सृजनशील र श्रमजीवी श्रमिकले आफ्ना हकहित र अधिकारका लागि गर्नुपरेका सङ्घर्षलाई स्मरण गराउँछ, नेपालमा जहानियाँ राणाशासनविरुद्ध प्रजातन्त्रका लागि मजदुरले नै सबैभन्दा पहिले आवाज बुलन्द गरेका थिए, प्रजातन्त्रका लागि भएको सङ्घर्षदेखि हालसम्म भएका सबै लोकतान्त्रिक आन्दोलनमा नेपाली मजदुरले निर्वाह गरेको भूमिका अद्वितीय छ, त्यही आन्दोलनको जगमा यति बेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा छौँ ।”
उहाँले यस क्रममा सरकारले मजदुरको हकहित र अधिकारको संरक्षण तथा न्यायोचित मागको सम्बोधनका लागि अनेकौँ कानुनी तथा नीतिगत प्रबन्ध गरी कार्यान्वयन गरिएको स्मरण गराउनुभएको छ । श्रमिकका लागि सामाजिक सुरक्षा कोष पछिल्लो समय कार्यान्वयनमा आएको एउटा महत्त्वपूर्ण कार्यक्रम भएको सन्देशमा उल्लेख छ ।
“अझै पनि मजदुरहरूको आत्मसम्मान र प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै प्रोत्साहनका लागि आवश्यक कार्यक्रमको व्यवस्था गर्नु आवश्यक देखिएको छ, यसको लागि प्रदेश सरकार सदैव तत्पर र प्रतिबद्ध रहेको छ, १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न थप आत्मविश्वास र उत्प्रेरणा दिने विश्वाससहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्