बीरगंजमा गाउँपालिकाका अध्यक्षसहित थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहा सहित वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ जनागरी थप ४ जना कोरोना सङ्क्रमितको बीरगंजमा मृत्यु भएको छ ।
विगत एक सातादेखि कोरोना संक्रमित भई बीरगंज रानिघाट स्थित आफ्नै घरमा होम आईशोलेशनमा रहनु भएका कालिकामाई गाउँपालिकाका अध्यक्ष ७९ वर्षीय नथुनी कुशवाहाको आज बिहान २.३० बजे घरमै निधन भएको हो ।
रुघा, खोकी र ज्वरो नियन्त्रणमा नआउँदा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
यसैगरी नारायणी अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १.४५ बजे मृत्यु भएको छ ।
वैशाख १२ गते कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वासमा अवरोध भएपछि उपचारार्थ नारायणी अस्पतालमा भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो ।
त्यसैगरी नारायणी अस्पतालमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ निवासी ७७ वर्षीय पुरुषको गए राति उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख १० गते अस्पतालमा भर्ना भएका पुरुषको पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र उपचारकै क्रममा उच्च निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि गए राति निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
त्यसैगरी नारायणी अस्पतालमा गए राति बीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी ४७ वर्षीया महिलाको पनि कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि वैशाख १४ गते नारायणी अस्पतालमा भर्ना भएकी महिलाको पिसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । गम्भीर किसिमको निमोनिया बाट पीडित महिलाको गए राति मृत्यु भएको डाक्टर दासले जानकारी दिनुभयो ।
यसैबीच नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परिक्षण गरिएकोमा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा १ सय ३१ जना पुरुष र ४४ जना महिला रहेका छन् ।
संक्रमित मध्ये १ सय ३१ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ३४ जना, रौतहटका ३ जना, महोत्तरीका १ जना,सर्लाहीका ५ जना र दाङको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १० वर्षदेखि ७२ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव २ देखी ३५ दशमलव २ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।
वैशाख यता बीरगंजमा कोरोना सङ्क्रमणको कारण आज मृत्यु भएका थप ४ जना सहित २६ जनाको ज्यान गएको छ । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि यता गरिएको २ हजार ५सय ८४ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्