तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका होटलमा लगानी बढ्दै

जुम्ला । कोभिडले थला पारेको अर्थतन्त्रलाई उकास्न जुम्लाको होटल क्षेत्रमा व्यवसायीले लगानी बढाउँदै गएका छ । अर्थतन्त्र उकास्नुका साथै सेवा ग्राहकको माग र समस्यालाई मध्यनजर गर्दै सुविधायुक्त संरचना निर्माणमा लगानी बढी रहेको हो ।
कर्णाली प्रदेश राजधानी पछिको दोस्रो ठुलो शहर जुम्ला खलङ्गामा तीन दर्जन बढी साना ठुला होटल व्यवसाय छन् । तर अधिकांश होटलहरुमा सुविधायुक्त ३÷४ सय जना अटाउने क्षमताको सभा हल नहुँदा ठुला कार्यक्रम हुन सकेका छैनन् । भने, विवाह व्रतबन्ध देखि सभा सम्मेलन गर्न उपयुक्त ठाउँ नहुँदा जुम्लामा समस्या हुने गरेको छ ।
यस्तै समस्यालाई मध्यनजर गर्दै माथिल्लो कर्णालीमै  पहिलो सुविधायुक्त पाटी प्यालेस जुम्लामा निर्माण भइरहेको छ ।  कान्जिरोवा होटलका सञ्चालक नोर्बु लामा र उहाँका भाइ झयाम्बल लामाको संयुक्त लगानीमा प्रविधिमैत्री,सुविधायुक्त पार्टी प्यालेस निर्माण हुन लागेको हो ।
आउँदो असार महिनाबाट सञ्चालनमा आउने गरी करिब १ करोड बजेटको लगानीमा सुविधायुक्त पार्टी प्यालेस निर्माण थालेको होटल व्यवसायी नोर्बु लामाले बताउनुभयो । उहाँले भन्नुभयो,“जुम्लामै पहिलो सुविधायुक्त पार्टी प्यालेस बनाउने सोचमा छु । आधुनिक प्रविधिमैत्री प्यालेस बनाउने सोच भएकोले १ करोड बढी नै लगानी लाग्ने अनुमान छ ।”
निर्माणमा करिब ५० लाख, व्यवस्थापन सजावटमा ३० लाख, रंगरोघन देखि गुणस्तरीय साउन्ड सिस्टम जडान गर्न, स्टेच निर्माण लगायतका अन्य संरचना गरी करिब १ करोड बढी लगानी लाग्ने नोर्बु लामाको भनाई छ ।
साथै, पार्टी प्यालेसमा जुम्लाका भाषा संस्कृति तथा पहिचान झल्किने खालको तस्बिरहरू राखिने छ । भने, पाहुनालाई स्वागत गर्नका लागि मागल, हुड्के नाच, पञ्चेबाजाद्वारा स्वागत गरिने व्यवस्था गरिने छ ।  अहिले पार्टी प्यालेस निर्माणमा १५ जना कामदार नियमित खटिएका छन् ।
जुम्लामा ३÷४ सय जना अटाउने कतै सभा नहुँदा कुनै पनि राष्ट्रिय क्षेत्रिय स्तरका कार्यक्रम हुँदैनन् । जसका कारण लाखौँको आम्दानी घुम्ने र जहिले पनि कार्यक्रममा सहभागी हुन बाहिर जिल्ला जानु पर्ने बाध्यता छ ।
नोर्बुले थप्नुभयो,“करिब ४ सय जना अटाउने क्षमताको पार्टी प्यालेस बनाउँदै छु । काठमान्डौ,पोखरा नेपालगन्जको झल्को दिने गरी सजावट तथा व्यवस्था गर्ने सोचमा छु ।”
जुम्लामै पार्टी प्यालेस सञ्चालन भएपछि कर्णाली प्रदेश स्तरका ठुला कार्यक्रम जुम्लामै हुने, सयौ मान्छे आउने,आर्थिक आम्दानी बढ्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने उनको आशा गरिएको छ ।
ठुला कार्यक्रम गर्दा हल खोज्दै भौँतारिने समस्या जुम्लामा अहिले पनि छ । इन्जिनियरकै स्टेमेट अनुसार करिब १५ जना कामदारले आउँदो असार देखि सञ्चालनमा आउने गरी पार्टी प्यालेस निर्माण द्रुत गतिमा भइरहेको छ । भने, सुविधायुक्त पार्टी प्यालेस सञ्चालन पश्चात्  उपभोक्ताहरूलाई ठुलो राहत मिल्ने विश्वास गरिएको छ ।
पार्टी प्यालेस निर्माण सँगै कान्जिरोवा होटलको स्तरबृद्धि पनि भइरहेको छ । भिआइपी कोठा, बार, रेष्टुरेन्ट, फायरप्लेस, लबी, रिसेप्सनलगायतका नयाँ संरचनाहरू पनि धमाधम निर्माण भइरहेको कान्जिरो होटलका सञ्चालक नोर्बु लामाले जानकारी दिए ।
त्यस्तै जुम्लाको स्टार होटलमा पनि करोडौँको लगानी गरेर विस्तार कार्य भइरहेको छ । स्टार होटलका सञ्चालक हरि बहादुर डाँगीले पर्यटकको चापलाई मध्यनजर गर्दै होटलमा लगानी बढाएको र फेरी कोरोनाले थला पार्न थालेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय जुम्लामा बढ्दै गएको पर्यटकको चापलाई मध्य नजर गदै सुविधायुक्त संरचना अत्यावश्यक रहेकोले पनि होटल क्षेत्रमा लगानी बढाउन परेको उनको भनाई छ । एक वर्षपछि पर्यटन, होटल क्षेत्रले लय लिन थालेको थियो ।  तर फेरी संक्रमण बढेकोले गर्दा लगानी बढाए पनि आम्दानी गुम्ने खतरा बढेको होटल व्यवसायी लामाको चिन्ता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button