तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका ४ नाकामा एन्टिजेन परीक्षणसँगै  स्क्रिनिङ 

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश भित्रिने चार वटै नाकामा एन्टिजेन परीक्षणसँगै स्क्रिनिङको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रदेश सरकारका निर्णय सार्वजनिक गर्न आज (बिहीबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले कोरोना रोकथाम, नियन्त्रण एवं उपचारका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । प्रदेश सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी समाल्दै आउनु भएकी मन्त्री केसीले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको बताउनुभयो ।

उहाँका अनुसार चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरू र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको छ । ‘प्रदेशको क्षमताले नभ्याउने भएपछि नेपालगञ्जबाट दैनिक १५० सिलिन्डर अक्सिजनको आपूर्तिको व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नु भयो, ‘हाल प्रदेशमा उपलब्ध १९५० आइसोलेसन, ६२ वटा आइसियु, ३४ वटा भेण्टिलेजर र ५० वटा एचडियूलाई थप विस्तार गरेर कोरोना रोकथाम, नियन्त्रण, उपचारमा सरकार लागिपरिरहेको छ ।’ उहाँले सामाजिक सञ्जालमा हल्ला चले झैँ कर्णालीका अक्सिजनको अभाव नभएको समेत स्पष्ट पार्नु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button