तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ७२ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन

वीरगञ्ज । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जद्वारा आजबाट फेरि १ सय ७२ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेर उपचारका लागि बेडको अभाव भएपछि आज दिउँसो २ बजेदेखि नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल होटेल बाबा इन्टरनेशनल पुनः सञ्चालनमा ल्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेसहित प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशन बसरुद्दिन अन्सारीले आज संयुक्त रुपमा १ सय ७२ बेडको अस्थायी कोभिड अस्पतालको उद्घाटन गर्नु भएसँगै सेवा सुचारु भएको हो ।
१२ बेडको आकस्मिक कक्ष, २० बेडको आइसियु, ६ बेडको भेन्टिलेटर, ३० बेड क्याबिन सहितको प्राइभेट वार्ड र १ सय १२ बेडको जनरल वार्डसहित १ सय ७२ बेडको कोभिड अस्पताल सञ्चालनमा आएपछि वीरगन्जमा कोरोना सङ्क्रमितहरूलाई राहत पुगेको छ ।
अस्पतालको ३० बेडको प्राइभेट वार्ड बाहेक अन्य आइसियु, एनआईसियु, भेन्टिलेटर, अक्सिजन लगायतका सम्पुर्ण सेवाहरू निःशुल्क रहेको र सङ्क्रमितहरूलाई निःशुल्क खाना सहितको सेवा उपलब्ध गराइने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.बसरुद्दिन अन्सारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button