सोलुखुम्बुमा ८८ प्रतिशत घर निर्माण सम्पन्न

सोलुखुम्बु । भूकम्प गएको छ वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८८.५ प्रतिशत घर निर्माण सम्पन्न भएका छन् ।
जिल्ला भरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार २ सय ३७ घर प्रमाणित भएकोमा पुनर्निर्माणतर्फ १२ हजार २ सय ८५ र प्रबलीकरणतर्फ ९ सय ५२ घर रहेका थिए ।
पुनर्निर्माणमा परेका भूकम्प पीडितमध्ये वैशाखको पहिलो सातासम्ममा आवास निर्माण गरी १० हजार ८ सय ७८ पीडितले तेस्रो किस्ता रकम लिइसकेका छन्, जुन ८८.५४ प्रतिशत हो ।
कुल लाभग्राही मध्ये १२ हजार २८४ अर्थात् ९९.९९ प्रतिशतले जग हाल्नका लागि पहिलो किस्ता बापतको पचास हजार रकम लिएका छन् भने घरको जग निर्माण गरेर ११ हजार ७७६ लाभग्राहीले दोस्रो किस्ताको एक लाख पचास हजार रुपियाँ रकम बुझेका छन् ।
प्रबलीकरणतर्फ ९ सय ५२ लाभग्राहीले प्रथम किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय सोलुखुम्बुका कम्प्युटर अपरेटर माया शेर्पाले जानकारी दिनुभयो ।
हालसम्म आवास पुनर्निर्माणका लागि करिब तीन अर्ब ७० करोड रुपियाँभन्दा बढी रकम निकासा भइसकेको कार्यालयले जनाएको छ ।
आवास पुनः निर्माणका लागि पहिलो किस्ता बापत ५० हजार पाउने भूकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ता बापत एक लाख ५० हजार र घर पूर्ण तयार गरेपछि बाँकी एक लाख पाउने प्रावधान छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समयको प्राधिकरणको निर्णयबाट पनि लाभग्राहीमा नपरेकाहरुमध्ये पुनरावेदन गर्न चाहनेलाई गएको भदौमा जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत पुनरावेदन गर्न सक्ने अन्तिम मौका दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्