जनकपुरः कोरोना संक्रमित बिरामीका लागि ४ सय बेड सञ्चालनको तयारी
जनकपुरधाम । कोरोनाको सङ्क्रमणको रोकथाम तथा प्रभावकारी उपचारका लागि प्रादेशिक अस्पतालसहित जनकपुरधाममा रहेको शिक्षण कलेज तथा निजी अस्पतालमा गरी चार सय बेड छुट्टाउने निर्णय भएको छ ।जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति धनुषाको आयोजनामा प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका सञ्चालक एवं निजी अस्पतालका सञ्चालकहरूको आज सम्पन्न भएको बैठकमा सो सङ्ख्यामा बेड तयारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
जनकपुरधामको प्रादेशिक अस्पतालको नरसिंङ्ग कलेजमा यस अघि सञ्चालन रहेको कोरोना विशेष अस्पताल आजैदेखि सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । अक्सिजन पाइपसहित ५२ शैयाको कोरोना विशेष अस्पताल प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याएको बताइएको छ ।
यसै गरि जनकपुरधामको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा २ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय बैठकबाट भएको छ । यसका लागि कलेज सञ्चालक सहमत भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।
निजी अस्पतालहरूको सङ्गठनले कोरोनाका उपचारका लागि आवश्यक बेड उपलब्ध गराउने विषयमा सहमति जनाएको छ । सङ्गठनले जनकपुरधामको काव्या अस्पतालमा कोरोनाका बिरामीका लागि बेड छुट्ट्याउने प्रतिबद्धता गरेका छन् ।
सबै निजी अस्पताल तथा नरसिंङ्ग होममा गरी करिब १ सय बेड कोरोनाका बिरामीलाई उपचारका लागि छुट्टाउने प्रतिबद्धता निजी अस्पताल एशोसिएशनबाट आएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सङ्कट व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्