तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको व्यास नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि 

तनहुँ । तनहुँको व्यास नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड जितेको छ ।
जिल्लाको दमौलीमा सम्पन्न प्रतियोगिताको फाइनलमा सर्वाधिक पदकका साथ व्यास नगरपालिकालाई शिल्ड प्रदान गरिएको हो ।
यसअघि विद्यालयलाई नै शिल्ड दिने गरिएकामा यस पटकबाट धेरै पदक प्राप्त गर्ने तहलाई शिल्ड दिन थालिएको जिल्ला खेलकुद विकास समिति तनहुँले जनाएको छ । व्यासले १२ स्वर्ण, नौ रजत र पाँच कास्य पदक पाएको हो ।
प्रतियोगितामा विगतमा जस्तै सत्यवती मावि दमौली यसपालि पनि पहिलो भएको छ ।
लगातार तीन पटक शिल्ड उचालेर आफ्नो कब्जामा पारेको र एक वर्ष अघिको प्रतियोगितामा प्रथम भएको सत्यवती यसपालि पनि पहिलो भएको हो ।
सत्यवतीले छ स्वर्णसहित १२ पदक पाएको छ । उसका पोल्टामा तीन रजत र तीन कास्य पदक परेका छन् ।
सत्यवतीपछि आँबुखैरेनीको मित्रता मावि आएको छ । प्रतियोगितामा दोस्रो भएको मित्रताले पाँच स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको हो ।
तीन स्वर्ण, दुई रजत र एक कास्य पदक पाएको शुक्लागण्डकीको पञ्चमुनीदेव माध्यमिक विद्यालय तेस्रो भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button