हराउन थाले गाउँका पाटी पौवा र चौताराहरू

तनहुँ । धार्मिक र वातावरणीय महत्त्व बोक्ने पार्टी पौवा र चौतारीहरूको संरक्षण नहुँदा लोप हुन थालेका छन् ।
तनहुँका ग्रामीण क्षेत्रका गोरेटाहरूमा प्रशस्त देखिने यस्ता संरचनाहरू विकासको नाममा विनाश हुन थालेका छन् । गोरेटोलाई मोटरेबल बाटोमा परिणत गर्दा यस्ता संरचनाहरू विस्थापित हुन थालेका हुन् ।
गाउँ गाउँमा बाटो विस्तार गर्ने नाममा पुर्खाले स्थापना गरेको सांस्कृतिक सम्पदाहरू मासिनु गलत भएको विश्व हिन्दु महासङ्घ शुक्लागण्डकीका अध्यक्ष नारायण घिमिरे बताउनुहुन्छ ।
उहाँले चौतारा लगायत पाटी पौवा भत्किए पनि पुन निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । सडक सञ्जाल नजोडिएको र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि पाटी पौवा आवश्यक हुने गरे पनि बजारमा होटल र गाउँमा होमस्टे भएकोले लोप हुने अवस्थामा पुगेको घिमिरेको बुझाई छ ।
बटुवाहरू बास बस्ने, काम गरेर थाकेपछि थकाई मेट्ने, काम तथा हिँड्ने क्रममा हावाहुरी, असिना पानी आउँदा ओत लाग्न प्रयोग हुने ठाँटीपौवाहरु संरक्षणको अभावमा भत्किन थालेको एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशी बताउनुहुन्छ ।
राती बास बस्न समेत प्रयोग गर्न मिल्ने गरी बाटोहरूको छेउमा तथा तनहुँको धार्मिक स्थलहरू देवघाट, व्यास तथा पराशर क्षेत्र, थानीमाई, छाब्दीवाराही, ढोरबाराही लगायतका स्थानमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा पर्दै जान थालेको तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष माधवबहादुर पन्तले जानकारी दिनुभयो ।
वातावरणीय दृष्टिकोणले राम्रो, ढुङ्गाको छानो, ढुङ्गा र माटोको गारो तथा काठहरू प्रयोग गरिएका पाटीपौवा लोप हुँदै गएको र धार्मिक भावना भएका केही व्यक्तिहरू सिमेन्ट, फलाम र टिनको प्रयोग गरेर बनाउने गरेको पन्तले बताउनुभयो ।

पार्टी पौवा तथा चौतारोको संरक्षण गरिनुपर्छ भन्ने चेतना पैmल्याउन मद्दत पुगोस् भन्ने उद्देश्यले दुई लाख ५० हजार खर्च गरेको दमौलीको व्यास गुफा तथा शिवपाञ्चायन मन्दिर जाने बाटो प्रमुख जिल्ला अधिकारीको निवासको आडमा चौतारो निर्माण गरेको पन्तले बताउनुभयो ।
पुण्य कमाउनका लागि सामाजिक काम गर्नुका साथै पाटीपौवा र चौतारी निर्माण गर्ने चलन रहेको समाजका वृद्ध सदस्यहरु बताउँछन् । पहिले हरेका गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको हाल भत्किएर कमै मात्रामा देखिने गरिएको व्यास नगरपालिका–३ पोल्याङस्थित पोल्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खडानन्द कैनीले बताउनुभयो ।
नेपाली कला तथा पहिचान झल्काउने सालको काठमा बुट्टाहरू कुँदिएका, कलात्मक ठाँटीपौवाहरु समेत संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेकोले सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको कैनीको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्