तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पपछिको पुनःनिर्माण : ठडियो सग्लो धरहरा 

काठमाडौं । २०७२ सालको भूकम्पले ढलेको ऐतिहासिक धरहरा ६ बर्षपछि फेरि ठडिएको छ ।
सुनको जलप लगाएको, टिलिक्क टल्किने गजुरसहितको धरहरा काठमाडौबासीले अब आफ्नै घरको कौसीबाट समेत देख्न सक्ने भएका छन् ।
अत्याधुनिक प्रविधिबाट बनेको  नयाँ धरहरा चढ्न लिफ्टसँगै परम्परागत  भ¥याङको पनि प्रयोग गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको धरहरा  प्रधानमन्त्री ओलीले नै वैशाख ११ गते उद्घाटन गर्दै हुनुहुन्छ ।
१९९७ ताकाको फोटोमा धरहरा र भिमसेन निवास
पहिलाको धरहराको तुलनामा नयाँ धरहरा अत्याधुनिक र सुविधासम्पन्न रहेको छ । धरहरा चढ्न परम्परागत  भर्‍याङसँगै लिफ्ट पनि राखिएको छ । बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिए पनि भित्र भने २२ तलाको छ ।
नयाँ धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल र पार्किङसहित रेष्टुरेन्ट, बगैँचा, पुस्तकालय आदिको सुविधा उपलब्ध हुनेछ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नयाँ धरहरासँगै भूकम्प सङ्ग्रहालयको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यसअघि गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ र त्यहाँ बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह पनि बनाइनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।
धरहराको १८ औँ तलामा अवलोकन कक्ष रहेको छ । धरहरा छेवैबाट खिचापोखरी र टुँडिखेललाई जोड्न स्थानीयको माग अनुसार बाटो खोलिएको कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
धरहराको २० औँ तलामा दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । २२ औँ तलामा शिव लिङ्ग राखिएको छ । धरहराको हरेक तलामा कार्नेसका बुट्टा र पुरानै शैलीको गोला झ्यालहरू राखिएको छ । गोश्वारा हुलाक कार्यालय भएको ठाउँमा तीन तहको पार्किङ स्थल छ । धरहरामा वाटर फाउन्टेन, भूकम्पको संग्राहलय, थिएटर, आकर्षक बगैँचा, रेष्टुराँ लगायत सुविधाहरू पनि उपलब्ध हुनेछन् । धरहरा, पार्किङ र बगैँचा गरी ४२ रोपनी क्षेत्रफलमा फैलिएको प्राधिकरणले जनाएको  छ ।
                                                                २०७२ साल वैशाख १२ गतेको भुकम्पले ढलेको धरहरा

वि. सं. १८८१ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले ११ तलाको धरहरा बनाएका थिए । तर, १९९० सालको महाभूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित थियो ।

०७२ सालको भूकम्पले धरहरा फेदैबाट ढलेको थियो । ऐतिहासिक मौलिकता बोकेको महत्त्वपूर्ण सम्पदाको रुपमा परिचित  धरहरा भूकम्पले गल्र्याम्म ढलेदेखि नै पुन बन्छ  कि बन्दैन भन्ने थियो । तर भूकम्प गएको छ वर्षमा निर्माण सम्पन्न भई अब सग्लो धरहरा उभिएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button