पछिल्लो ८ महिनामा भन्सार छली, चोरीतस्करी नियन्त्रणबाट मात्रै ७७ प्रतिशत बढी राजश्व संकलन

झापा । प्रहरीले पछिल्लो आठ महिनामा भन्सार छली, चोरीतस्करी नियन्त्रणबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशत बढीले राजश्व संकलन गरेको छ ।
प्रहरीले पछिल्लो आठ महिनामा भन्सार छली गरी नेपाल भित्र्याइएका किराना आइटम, विद्युतीय सामग्री, सवारीका पाट्र्स, लत्ताकपडा, पशुचौपाया, काठ र अन्य विभिन्न सामग्री पक्राउ गर्दै भन्सार दाखिला गरेको हो । जसबाट प्रहरीले नौ करोड ३१ लाख ९७ हजार सात सय १२ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रहरीले किराना आइटमबाट मात्रै अघिल्लो आर्थिक वर्ष ४७ लाख ५१ हजार नौ सय रुपैयाँ राजश्व संकलन गरेको थियो भने चालू आर्थिक वर्षको फागुनसम्ममा दुई करोड ७९ हजार तीन सय ६८ रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यस्तै विद्युतीय सामग्रीबाट दुई करोड २९ लाख ८० हजार पाँच सय, सवारी पाट्र्सबाट ५३ लाख ६५ हजार दुई सय ५५, लत्ताकपडाबाट ८२ लाख ९५ हजार दुई सय ७०, पशुचौपायबाट ३७ लाख ७० हजार पाँच सय, काठबाट ३४ लाख ५० हजार पाँच सय र अन्य विभिन्न सामग्रीबाट चार करोड ७५ लाख ५६ हजार तीन सय १९ गरी नौ करोड ३१ लाख ९७ हजार सात सय १२ रुपैयाँ राजश्व संकलन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापामा सानुराम भट्टराईले प्रहरी उपरीक्षकको नेतृत्व सम्हालेसँगै ओरियन्सका सामान सबैभन्दा बढी पक्राउ गरिएको थियो । प्रहरीले दमकबाट तीन करोड रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरेको थियो ।आर्थिक वर्ष २०७५÷०७६को तुलनामा प्रहरीले भन्सार छली, चोरीतस्करी नियन्त्रणबाट ३४ प्रतिशत राजश्व वृद्धि गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमै अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशत बढीले राजश्व संकलन गरेको हो ।
प्रहरीले साउन महिनामा मात्रै ५३ लाख ४९ हजार पाँच सय ३० रुपैयाँ, भदौमा ५५ लाख ९५ हजार दुई सय १६ रुपैयाँ, असोजमा ५० लाख ५० हजार एक सय ११ रुपैयाँ, कात्तिकमा ४२ लाख ५७ हजार पाँच सय ८० रुपैयाँ, मंसीरमा ३४ लाख १७ हजार चार सय ८० रुपैयाँ र पुस महिनामा ६० लाख ४७ हजार ४५ रुपैयाँ, माघ महिनामा तीन करोड ५४ लाख ९९ हजार आठ सय ८८ रुपैयाँ र फागुन महिनामा दुई करोड ५८ लाख ४३ हजार आठ सय १२ रुपैयाँ राजश्व संकलन गरेको हो ।
विशेषगरी पूर्वी नाका काँकरभिट्टा, भद्रपुर, कुमरखोद, गौरीगञ्ज, सतीघट्टा लगायतका नाकामा प्रहरीले कडाइ गरेका कारण राजश्व संकलनमा वृद्धि भएको हो । कोरोना संक्रमणकाबीच पनि प्रहरीले राजश्व संकलनमा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रुपमा राजश्व संकलन गर्न सफल भएको देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्