तनहुँमा करिब ४ हजार जनाले लगाए कोरोना खोपको दोस्रो मात्रा

तनहुँ । तनहुँमा वैशाख ७ र ८ गते संचालन भएको कोभिड विरुद्धको दोस्रो मात्राको खोप अभियानमा करिब ४ हजार जनाले खोप लगाएका छन् । कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई स्वास्थ्य कार्यालय तनहुँले वैशाख ७ र ८ गते दोस्रो मात्राको खोप लगाएको हो ।
१० वटै स्थानीय तहमा शुरु भएको खोप अभियानको दुई दिनमा ३ हजार ८४७ जनाले दोस्रो मात्राको खोप लगाएका हुन् ।
भानुमा २५२, व्यासमा १ हजार २७६ म्याग्देमा १७२ शुक्लागण्डकीमा ४४८, घिरिङमा ९३, ऋषिङमा ४७३, देवघाटमा ३२४, बन्दीपुरमा २७० र अ‘ाबुखैरेनीमा २६४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । छुटेका लाई ९ र १० गतेसम्म खोप लगाईने उहाँले बताउनुभयो ।
पहिलो मात्राको खोप अभियान गत माघ १४ गतेदेखि २४ र फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको थियो । त्यसक्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, वृद्धवृद्धा, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी सेवाका कर्मचारी, सुरक्षाकर्मी, न्याय सेवाका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण तथा संस्थानका कार्यरत कर्मचारी र पत्रकारलाई खोप लगाइएको थियो ।
दोस्रो मात्राको खोप लगाउनका लागि यसअघि प्रदान गरिएको खोपकार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो ।
स्वास्थ्य कार्यालयले दोस्रो मात्राको खोप अभियान सञ्चालनका लागि व्यास नगरपालिकास्थित दमौली अस्पताल, स्वास्थ्य कार्यालय भवन, कैदीबन्दी, वृद्धवृद्धाका लागि सम्बन्धित स्थानमा, भानु नगरपालिकास्थित पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भानु स्वास्थ्यचौकी, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, खैरेनीटार स्वास्थ्यचौकी, भीमाद नगरपालिकास्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल र डुम्रे आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन गरेको थियो ।
घिरिङ गाउँपालिकास्थित घिरिङ स्वास्थ्यचौकी र साभुङ स्वास्थ्यचौकी, ऋषिङ गाउँपालिकास्थित भिरकोट स्वास्थ्यचौकी र कोटदरवार स्वास्थ्यचौकी, देवघाट गाउँपालिकास्थित धर्मास्थल अस्पताल, आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी स्वास्थ्यचौकी, कृष्णमन्दिर वृद्धाश्रम र म्याग्दे गाउँपालिकास्थित थर्पु स्वास्थ्यचौकी र जामुने स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्