‘पत्रकारहरूले राजनीतिक स्थायित्व र सुशासनका लागि कलम चलाउनु पर्ने’
विराटनगर । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मुलुकको राजनीतिक स्थायित्व र सुशासनका लागि पत्रकारहरूले कलम चलाउनु पर्ने बताउनु भएको छ ।
प्रदेश एवं जिल्ला निर्वाचन समितिद्वारा आज विराटनगरमा आयोजित नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समिति एवं जिल्ला समितिका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण तथा पद हस्तान्तरण गर्दै उहाँले राज्यसत्तालाई जिम्मेवार रुपमा सञ्चालन गरी पारदर्शिता कायम गर्न सञ्चारकर्मीहरूको ठुलो भूमिका खेल्ने पर्नेमा जोड दिनुभयो ।
सभामुख भण्डारीले मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न यसको सञ्चार जगतको ठुलो जिम्मेवारी रहने चर्चा गर्दै जनताको हक अधिकारको रक्षाका कमललाई तिखो बनाउनु पर्ने बताउनुभयो ।
नेपाली कांग्रेस प्रतिपक्षी दलका नेता राजीव कोइरालाले अविश्वासको प्रस्ताव प्रदेशमा आवश्यक रहेकोमा जोड दिँदै सरकारले ठुलो विकास निर्माणका योजनाको बजेट कटौती गरेको आरोप लगाउनुभयो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कलमको माध्यमबाट समाजमा रहेका कुरीति हटाई जनतामा चेतना गराउनका साथै राष्ट्र निर्माण कार्यमा सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकार उपचारका लागि स्थापना गरिने अक्षय कोषमा महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले निर्वाचनको माध्यमबाट मुलुकमा सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको धारणा राख्नुभयो ।
प्रदेश महासङ्घका निवर्तमान अध्यक्ष विक्रम लुइँटेल, प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, महासचिव विवेक गौतम, वन्धु पोखरेल, जिल्ला अध्यक्ष सञ्जीव खनाल, पत्रकारहरू शङ्कर खरेल, मोहनकाजी न्यौपाने र उद्योगी नविन रिजालले आवाज विहीनको आवाज र समाज रूपान्तरण कार्यमा सञ्चारकर्मीहरू लाग्नु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्