तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम गाँउमा लिफ्टीङ  प्रविधि  : हट्यो पानीको पिरलो 

बझाङ । बझाङको बुङगल नगरपालिका ६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन ।
खानेपानीको जोहो गर्नकै  लागि  धनमतीले अहिले बिहान  सबेरै  उठ्नु परेको पनि छैन  । पहिलाको जस्तो घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता अब धनमतीलाई छैन ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टीङ प्रविधिबाट गाँउमा खानेपानी पु¥याएपछि उनी मात्र हैन सबै गाँउलेकै दैनिकी फेरिएको छ । आयोजना निमार्ण हुनु अघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नु पर्ने र बर्षातको समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय घर अगाडि नै धारा जडान भएको खुसी व्यक्त गर्छन् ।  पानी भर्नका लागी पालो कुर्नु परेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नु पर्ने अवस्था पनि नरहेको धनमतीले बताइन् । 
दुर्गाथली गाउँपालिका ५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि हाई सन्चो भएको छ । बर्षौदेखि खोलाको पानी बोक्दै आएकि उनी गाँउमा बाजगडा सोलार लिफ्टीङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउँछिन् । उनी भन्छिन् अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नु परेको छ । न त एक गाग्री पानी भर्न दिनभर कुर्नु परेको छ । एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता हट्यो । गाईभैसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्थाले पाउन’ सास्ती पाइयो । अहिले पानी बोक्नु पर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन पाइएको छ ।
महिलाहरूलाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । पानी नहुँदा महिनावारी भएको समयमा विद्यालय समेत नजाने गरेको खप्तडछान्ना २ की पुजा सुनारले बताइन । उनी भन्छिन् नुहाउन टाढा जानुपर्थ्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला ७ दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्थ्यो ।
दुर्गम गाँउमा सोलार लिफ्टीङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयले खोला र कुलाको फोहोर पानी पिउनु परेको छैन ।
घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ ।
नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीहरूमा सोलार लिफ्टीङ प्रविधिबाट खानेपानी पु¥याईएको हो ।
जिल्लामा अहिलेसम्म १३ ठाउँमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निमार्ण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँचमा पु¥याईएको  सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टिम लिडर कलक खत्रीले बताउनु भयो ।
परियोजना अन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुङगल नगरपालिकामा गरी ९ वटा स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निमार्ण भएका छन् । सोलार लिफ्टीङ प्रविधिबाट दुर्गाथलीमा ५, खप्तडछान्नामा १, वित्थडचिरमा २, थलारामा २, र बुङगल नगरपालिकामा २ वटा आयोजना सम्पन्न भई प्रयोगमा आएका परियोजनाका ईन्जीनियर लोकेन्द्र ओलीले बताउनु भयो ।
बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाँउहरुमा सौर्यउर्जा जडान गरी लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी ८ हजारदेखि २० हजार घनलिटर क्षमताका आरविटी ट्याङ्ककीमा जम्मा हुन्छ । सोही ट्याङ्ककीबाट घरघरमा पानी वितरण गरिन्छ । आयोजनाबाट हालसम्म विभिन्न स्थानीयतहका एक हजार दुई सय घरधुरीका करिब सात हजार स्थानीय लाभान्वित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button