मकवानपुरमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर। मकवानपुरमा बुधबार ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा मालवाहक ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् ।
हेटौँडाबाट मनहरी तर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही दिसाबाट ओभरटेक गर्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मृतक र घाइतेको पहिचान खुल्न नसकेको अहिले घटनास्थलमा प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको टोली पुगेको तथा एक तर्फी अवरुद्ध बनेको राजमार्ग खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । ट्रक तथा चालक प्रहरी नियन्त्रणमा रहेको र मोटरसाइकलका घाइतेको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जन्ती बोकेको सुमो दुर्घटना हुँदा ७ जना घाइते
कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका–१ कर्मे खोलामा जन्ती बोकेको सुमो दुर्घटनामा घाइते ७ जना घाइते भएका छन् । मकवानपुरकै बकैया–४ बाट जन्ती बोकेर ठिङ्गन तर्फ जाँदै गरेको ना १ ज १७५१ नम्बरको सुमो दुर्घटना हुँदा ७ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा बकैया–४ बस्ने अन्दाजी ३५÷४० का बलराम बाइवा, सोही स्थान बस्ने ५२ वर्षीय सञ्चार सिंह गोले, हेटौँडा–१८ बस्ने आइत सिंह स्याङ्तान, मकवानपुरगढी–१ का १७ वर्षीय सोमलाला योञ्जन, बकैया–७ अधेरी बस्ने १५ वर्षीय लोप्चन भोम्जन, बकैया–४ बस्ने १४ वर्षीय विक्रम वाइवा र ३६ वर्षीय वलराम वाइवा रहेका छन् । घाइते ७ जनाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सुमो चालक भने मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । दुर्घटनामा घाइतेको लेनडाँडामा रहेको नेपाली सेनाले प्राथमिक उपचार गरेर थप उपचारको लागी हेटौँडा पठाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्