जिल्ला स्तरीय महिला भलिबलको उपाधि हेलम्बुलाई

सिन्धुपाल्चोक।सिन्धुपाल्चोक जिल्ला स्तरीय महिला भलिबलको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । बुधवार मेलम्चीमा भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले नगद रु १ लाखसहित कप र मेडल प्राप्त गरेको हो । दोस्रो हुने टिमले रु ५० हजारसहित कप र मेडल प्राप्त ग¥यो ।
तेस्रो स्थान प्राप्त गर्ने मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले रु२५/२५ हजारका साथमा कप र मेडल प्राप्त गरेका छन् । सान्त्वना स्थान प्राप्त गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाले रु १० हजार र कप पाएको खेल संयोजक राजनमान श्रेष्ठले जानकारी दिनुभयो ।
हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो प्रतियोगिता सोमबार मेलम्ची बजारमा सुरु भएको थियो । मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोगमा सो खेल भएको हो ।
खेलमा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले तीन हजार नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गरेका छन् । चार विधामा हेलम्बु गाउँपालिकाले पुरस्कार जितेको छ । यसमा उत्कृष्ट खेलाडी फुरल्हामु पाख्रिन, उत्कृष्ट स्पाइकर चाहना तामाङ, उत्कृष्ट डिफेन्डर रीमा भुजेल र उत्कृष्ट लिफ्टर अमिना तामाङ घोषित हुनुभयो । त्यस्तै चौतारा साँगाचोकगढीकी सुस्मिता श्रेष्ठले उत्कृष्ट सर्भर र मेलम्ची नगरपालिकाकी रमिला तामाङले नव प्रतिभा खेलाडीको उपाधि पाउनुभएको मुख्य रेफ्री श्रीराम बोगटीले जानकारी दिनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपालले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै शुभकामना व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्