लुम्बिनी प्रदेशमा जसपाबाट थपिए तीन मन्त्री
रुपन्देही । आफै विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदसहित जसपाका ४ जनालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मन्त्री बनाउनु भएको छ ।
नयाँ मन्त्री बन्नेमा जसपाका सांसद सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे रहेका छन् । कल्पना पाण्डेबाहेक बाँकी तीनै जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
अहिले उनीहरू शपथग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा गइसकेका छन् । सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको केही घण्टामै सरकारका लागि नयाँ समीकरण सुरु भएको हो । जसपाले कांग्रेस र माओवादीलाई छक्काएर एमालेसँग सहकार्य गर्न पुगेको छ ।
आफ्नो सरकार जोगाउन मुख्यमन्त्री शङ्कर पोखरेलले जसपाको साथ लिन यस्तो निर्णय गरेका हुन् ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कानून मन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिएसँगै जनता समाजवादीका प्रमुख सचेतक सन्तोष पाण्डेयको नेतृत्वमा सरकारमा जाने गरी छलफल सुरु भएको थियो ।
यस्तो छ गणित
८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले दुई जना सांसदलाई पार्टीले कारबाही गरेपछि ८५ सदस्यीय भएको छ । जसमध्ये एमालेका ४१, नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । एमालेको माधव नेपाल पक्षमा खुलेका २ सांसद छन् । उनीहरूले कर्णाली प्रदेशमा जस्तै नयाँ सरकारको लागि साथ दिने माओवादी केन्द्रले आशा गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्