कालीगण्डकी करिडोर फेरि अलपत्र

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्ड विस्तारको काम फेरि अलपत्र परेको छ । जिल्लाको कुश्मा नगरपालिका– ५ मोदीबेनी देखि कुश्मा नगरपालिका– ४ अर्मादी सम्मको ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो ।
सडक खन्दाखन्दै चैत २५ गते भीरबाट डोजर खसेपछि सडक बिस्तारको काम रोकिएको हो । आगामी २ वर्षभित्रै पर्वत खण्डको सबै सडक कालोपत्रे सक्ने लक्ष्य राखिएको थियो । स्याङ्जाको मिर्मि देखि फलेवास सम्मको खण्डको स्तरउन्नतीको काम धमाधम अगाडी बढेपनि ५ किलोमिटर खण्डको काम भने ढिलाई भैरहेको करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । पर्वत खण्डको काम पाल्पामा रहेको कार्यालयले हेर्दै आएको छ ।
सुर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्र्याक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुंगाले लागी एक्स्काभेटर खसेको थियो । आयोजना प्रमुख सुबोधकुमार देवकोटाले भीरबाट डोजर खसेपछि मोदीबेनी– अर्मादी खण्ड बिस्तारको काम रोकिएको बताउनुभयो ।
करिडोर अन्तर्गत पर्वतमा रानीपानी–फलेबास–ढिक खण्डको २३ किमि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । कडा चट्टान फुटाउने क्रममा मेसिनसहित मान्छे खसेर दुर्घटना भएपछि बाँकी काम कसरी अघि बढाउने भन्नेमा नै अन्योलता देखिएको छ ।

झन्डै २ वर्षसम्म सम्पर्कविहीन भएको सूर्य कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याएर काममा लगाइएको आयोजना प्रमुख देवकोटाले बताए । ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्र्याक खोल्न ढिलाइ भएको हो । पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि एक अर्ब २३ करोड रुपैयाँ विनियोजन भएको छ ।
२०७५ जेठ २१ मा काम सक्ने गरी २०७३ असार २२ मा सूर्य कन्स्ट्रक्सनले सम्झौता गरेको थियो । जिम्मा लिएको १४ किमिमध्ये मोदीबेनी र फलेबास–ढिकसम्मकै केही भागको ट्र्याक अझै खोल्न सकेको छैन । कन्स्ट्रक्सनका प्रतिनिधि दीपक जैसवालले नयाँ मेसिन र चालक खोजेर काम अघि बढाइने बताउनुभयो ।
सडकले दक्षिणका एक नगरपालिका र ३ गाउँपालिकाको बस्ती जोड्छ । २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखांकन गरिएको करिडोर २०६४ मा बागलुङतर्फ सरेको थियो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बागलुङ पु¥याइएको करिडोरको पर्वतमा कालीगण्डकी लोकमार्ग नामकरण गरी शाखा विस्तार गरिएको थियो ।
हाल सडकको दुवै जिल्लालाई समान प्राथमिकता साथ विस्तार गरिएको आयोजनाले जनाएको छ । करिडोरमा पर्ने मोदीखोलाको पुल निर्माण सम्पन्न भएको छ भने लमाएखोलामा पुल निर्माणको काम अन्तिम चरणमा छ । कालीगण्डकी करिडोर बेलाबेलामा विभिन्न वाहनामा अलमलमा पर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्