तपाईँ सुन्दै हुनुहुन्छः

वर्षमा एक पटक मात्र फुल्ने फूल १५ वर्षदेखि फुल्दै

सप्तरी । सौन्दर्यको रुपमा रहेको फूललाई मन नपराउने को होला र ? त्यसमा पनि वर्षमा १ दिन फुल्ने हारम (सुनाखरी) फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फुल हेर्नलाई मानिसहरूको भिड नै लाग्ने गर्दछ ।
इसाको छैटौँ र सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानै फुल्नु र साँझपख ओइलाएर जानु एउटा आश्चर्य र कौतुहलताको विषय बन्ने गरेको छ ।
दलित मध्ये अति पिछडिएको दुसाध जातिको कुल देवता तथा अन्तर्राष्ट्रिय स्तरमा पूजनीयका रुपमा रहेका वीर गाथाका वीर पुरुष सहलेशको जीवनसँग त्यस फूललाई जोडने गरेको पाइन्छ ।
प्रदेश नम्बर २ अन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि पश्चिम विष्णु मन्दिर टोलस्थित कञ्चनरूप –९ रुपनगर अन्तर्गत नवराज पोखरेलको आँपको फूलबारीमा आँपको रुखको हाँगामा विगत १५ वर्षदेखि वर्षको पहिलो दिन त्यो दुर्लभ सुनाखरी फुल फुल्ने गर्दछ ।
धेरै वर्ष अगाडिदेखि नै रुपनगर क्षेत्रमा यो फुल फुलेको हामीले देख्ने गरेको र त्यस फूल प्रति त्यति वास्ता नगरेपछि आफ्नो क्षेत्रको पहिचान पछाडि पर्ने गरेको स्थानीय वृद्ध गुणराज पोखरेल बताउनुहुन्छ ।
हामीहरू अरूको ठाउँको मात्रै गुनगान गाउँछौँ तर आफ्नै ठाउँको पनि तारिफ गर्न गुनगान गाउन लायक ठाउँहरू छन् ।
वर्षको एक दिन वैशाख १ गते मात्र फुल्ने फुल सप्तरीको कंचनरुप–९ रुपनगर नवराज पोखरेलको आँपको बोटमा यसपालि पनि फुलेको छ ।
विगत १५ वर्षदेखि यो सुनाखरीको फुल फुल्दै आएको छ तर यसको प्रचारप्रसार नहुँदा यसको अस्तित्वमा ह्रास आउँदै गइरहेको स्थानीयहरू बताउँछन् ।
फूल फुलेको बगैँचादेखि १ सय मिटर दक्षिण पूर्वमा साक्षात् प्रकट नारायण विष्णुको मन्दिर रहेको छ भने ३ किलोमिटर पश्चिम उत्तर कञ्चनरूप १२ धारा पानी पर्यटकीय स्थल भित्र सहलेश राजाको वासस्थानको रुपमा रहेको सहलेश पिडिया छ । त्यहाँ ३ वटा ढुङ्गाको पिरा रहेको र पिरा जसले बोकेर लान्छ त्यसको मृत्यु भएको इतिहास रहेको पाइन्छ ।
एउटा बाबाजीले पिरा बोकेर ल्याउँदा खोलामा आएपछि बाबाजीको मृत्यु भएको, पिरा फुटेको र सहलेश पिडियनमा फेरि अर्को पिरा प्रकट भई ३ वटै पिरा रहेको छ ।
यसले के स्पष्ट हुन्छ भने यस क्षेत्रमा सहलेश राजाको वासस्थान रहेको पाइन्छ । यस क्षेत्रहरूको प्रवर्धन संरक्षण गर्न सके प्रदेश नम्बर २ कै नमुना धार्मिक पर्यटकीय स्थल बन्ने स्थानीयको विश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button