तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु 

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ठोरी गाउँपालिका–४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउको, खुट्टा र हातमा चोट लागेका उनलाई नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एल.एस. न्युरो अस्पताल पानीट्याङीमा रिफर गरिएको थियो ।
न्युरो अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । गए राति ९ बजेतिर भएको दुर्घटनामा ठोरी गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका वडा नम्बर ३ नौका टोलाका ४५ वर्षीय राम सिंह चौधरी घाइते भएका छन् ।
मोटरसाइकल चालक चौधरी सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा रहेका छन् भने अन्य घाइतेको न्युरो अस्पताल वीरगन्जमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
गए राति तीव्र गतिमा रहेको मोटर साइकलले वीरगञ्ज–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पर्साको विजयवस्तीबाट जीराभवानी गाउँपालिका वडा नम्बर ३, नौकाटोला जाँदै गरेका चौधरी सवार ग९प ९५८७ नम्बरको मोटरसाइकलले उनीहरूलाई ठक्कर दिएको थियो । वीरगञ्ज–ठोरी हुलाकी सडक खण्ड कालोपत्रे भएपछि तीव्र गतिमा मोटर साइकल चलाउँदा ठोरी क्षेत्रमा सवारी दुर्घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button