भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर । आठ दिन नौ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज दिउँसोदेखि सुरु भएको छ ।
भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।
भैरवनाथको पूजा सुरु भएसँगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको भैरवनाथका मूल नाइके लक्ष्मीभक्त घैमसूले बताउनुभयो ।
तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ ।
लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरूको संलग्नतामा भैरवको नित्य पूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो ।
जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याइ फर्काउने प्रचलन छ ।
रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।
गत वर्ष कोरोना भाइरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो ।
यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भने पनि जात्रामा भिड हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको छ ।
जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्