राष्ट्रिय जनगणना–२०७८ सम्बन्धी सचेतना गोष्ठी सम्पन्न
कञ्चनपुर । कञ्चनपुरमा १२ आँै राष्ट्रिय जनगणना–२०७८ सम्बन्धमा आज जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न गरिएको छ ।
जिल्ला जनगणना अधिकारी गोविन्दराज न्यौपानेले जनगणना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपालमा पहिलो पटक जनगणना गर्दा सामुदायिक प्रश्नावली प्रयोग गरिन लागेको समेत बताउनुभयो ।
उहाँले प्रत्येक वडाहरूमा सामुदायिक प्रश्नावली प्रयोग गरी वडाको विस्तृत विवरण सङ्कलन गरिने बताउनुभयो ।
जिल्ला जनगणना अधिकारी न्यौपानेले वैशाख १ गतेदेखि कञ्चनपुरमा ५ वटा स्थानीय तहमा जनगणना कार्यालय स्थापना गर्न लागिएको समेत जनाकारी दिनुभयो ।
भीमदत्त र वेदकोट नगरपालिकाको जिल्ला जनगणना कार्यालयमा, दोधारा चाँदनी नगरपालिका, शुक्लाफाटा र कृष्णपुर नगरपालिकाको झलारीमा, बेलौरी नगरपालिकामा, लालझाडी र वेल्डाडी गाउँपालिकामा र पुर्नवास नगरपालिकामा एक गरी जम्मा ५ वटा स्थानीय जनगणना कार्यालयहरूमार्फत गणकको तालीम, सुपरिवेक्षण र फारम सङ्कलन कार्य गरिने जिल्ला जनगणना अधिकारी न्यौपानेले बताउनु भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला जनगणना समिति संयोजक राम कुमार महतोले जनगणना बहुआयामीक क्षेत्रको सरोकार राख्ने राष्ट्रिय अभियान भएकाले सबैले आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउनु पर्ने बताउनुभयो । उहाँले जनगणनाका लागि आवश्यक सामग्री पुगिसकेको र तयारी पनि पूर्ण भइसकेको समेत बताउनुभयो ।
जिल्ला समन्वय समिति सभापति फैरु तामाङले राष्ट्रिय अभियानलाई सबैले सहयोग गर्नु पर्ने बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्