तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली हवाई उड्डयनलाई युरोपेली आकाशमा लगाएको प्रतिबन्ध हटाउन युरोपियन युनियनसँग आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाली हवाई उड्डयनलाई युरोपेली आकाशमा लगाएको प्रतिबन्ध हटाउन युरोपियन युनियनसँग आग्रह गरेको छ ।
नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजसँग परिसंघको कार्यालयमा बुधवार भएको  द्विपक्षीय छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालको हवाई उड्डयन क्षेत्रले हाल सुरक्षामा विशेष ध्यान पुर्‍याई रहेकोले युरोपेली आकाशमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभयो ।
अध्यक्ष मोरले युरोपमा पनि नेपाली वस्तुको निर्यातमा सहयोग पुर्‍याउन र प्राविधिक सिप विकासमा नेपालललाई सहयोग पुर्‍याउन राजदूतसँग आग्रह गर्नु भयो ।
छलफलमा परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकोले सरकारसँग सहकार्य गरिरहेको बताउँदै परिसंघले कृषिजन्य र विटुमिन लगायतका कम्तीमा आठ वटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्नेतर्फ अगाडि बढेको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरूको साझा मञ्चको रुपमा युनियन अफ एसियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरूसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गर्नुभयो ।
छलफलमा युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले नेपालबाट युरोपियन युनियनमा आबद्ध देशहरूमा निर्यात हुँदै आएका वस्तुहरूको निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवर्द्धनको लागि सहयोग पुर्‍याउने र हवाई उड्डयनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्न पहल गर्ने बताउनु भएको नेपाल उद्योग परिसंघले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button