तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा दुई दर्जन बढी वनमा डढेलो

कञ्चनपुर । कञ्चनपुर जिल्लामा अहिले दुई दर्जन बढी स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार लालझाडी संरक्षित क्षेत्रसँगै चुरे क्षेत्रमा बढी डढेलो लागेको हो । लालझाडीमा दमकल प्रयोग गरेर नियन्त्रण गरिए पनि चुरे क्षेत्रमा भौगोलिक कठिनाइका कारण नियन्त्रणमा समस्या देखिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सिद्धसरोवर तालदेखि गैरी खान र रौटेला खोलासम्मै तीन÷चार दिनदेखि ठुलो डढेलो लागेको चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले बताउनु भएको छ । ब्रह्मदेवको ताराकोट र बुकीताल क्षेत्रमा पनि ठुलै डढेलो लागेको र नेपाली सेना र स्थानीयवासीबाट नियन्त्रणको प्रयास भए पनि सफल हुन नसकेको उहाँले बताउनुभएको छ  ।
धेरैतिर एकै पटक डढेलो लागेकाले नियन्त्रणमा लिन गाह्रो भएको जिल्ला वन कार्यालय कञ्चनपुरका रेन्जर शिवराज अवस्थीले बताउनु भएको छ  । उहाँका अनुसार चुरेमा ब्रह्मदेव, वेदकोट, शुक्लाफाटा र कृष्णपुरको उत्तरी क्षेत्रमा डढेलो ठुलो भूभागमा फैलिएको छ ।
निभाएका ठाउँमा पुनः डढेलो लागि रहेकाले झनै जोखिम बढाएको छ । एकातर्फ नियन्त्रण गरे अर्को तर्फबाट पुनः डढेलो सुरु हुने गरेको छ ।
लालझाडीमा एक दर्जन बढी क्षेत्रमा डढेलो लागेको छ । चुरे क्षेत्रमा पनि त्यतिकै ठाउँमा डढेलो लागेको छ । तराई र चुरे दुवै क्षेत्रमा गरी डेढ सय हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भएको छ । रुख र बुट्यान कति नष्ट भए, त्यसको कुनै विवरण सङ्कलन हुन सकेको छैन ।
डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारीसमेत भर्ना गरेको छ । वन क्षेत्रमा अग्निरेखा पनि बनाएको छ । सामुदायिक वनका उपभोक्ता, अग्नि नियन्त्रण दलका कर्मचारी र सुरक्षाकर्मीसमेत डढेलो नियन्त्रणका लागि खटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button