उस्तै प्रकृतिका सरकारी उद्योगहरूलाई एकै बोर्ड र कर्मचारी संयन्त्र मार्फत सञ्चालन गर्न सुझाव
काठमाडौँ । सरकारद्वारा गठित रुग्ण उद्योग सम्बन्धी अध्ययन कार्यदलले उस्तै प्रकृतिका सरकारी उद्योगहरूलाई एकै बोर्ड र कर्मचारी संयन्त्र मार्फत सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिले सरकारले निजी क्षेत्रलाई सञ्चालन गर्न दिएका उद्योगहरू निजी क्षेत्रले राम्रोसँग सञ्चालन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि सञ्चालन नगरी उल्टै उद्योगको नाममा रहेको जग्गा बेचेर नाफा आर्जन गर्न खोजेकोले त्यस्तो हुन नदिन सरकारलाई सुझाव दिएको छ ।
समितिले भृकुटी कागज कारखाना र गोरखकाली टायर उद्योग सञ्चालन गर्न सकिने तर स्थापनाको उद्देश्य बमोजिम सञ्चालन हुनुपर्ने देखिएको सुझाव समेत दिएको अध्ययन समितिका संयोजक पूर्व सचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।
अध्यक्ष सुवेदीले समितिले सरकारी उद्योगका बोर्डहरूमा दक्ष र व्यावसायिक व्यक्तिको मनोनयन नहुनु, त्यस्ता उद्योग एवं प्रतिष्ठानहरूमा राजनीतिकरण बढी हुनु, दक्षता र मेरिटको आधारमा कर्मचारी भर्ना नगर्नु जस्ता प्रमुख समस्याहरू देखिएको पाएको पनि बताउनुभयो ।
समितिले सङ्घीय सरकारको मातहत र उद्योग मन्त्रालय को मातहतमा रहेका रुग्ण उद्योगहरूको अवस्थाका बारेमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ ।








प्रतिक्रिया राख्नुहोस्