तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपमा विगत १० वर्षदेखि १ सय ६३ जना कुष्ठरोगका बिरामी उपचाररत

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरले आज बिहीबार नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीमा कुष्ठरोग (एलपीइपी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले श्वासप्रश्वासको माध्यमद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग भएकाले नियमित औषधी सेवन गरेमा कुष्ठरोगबाट बच्न सकिने बताउनुभयो । उहाँले नगरबाटै कुष्ठरोगलाई उन्मूलन गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको समेत जानकारी गराउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य निरीक्षक डम्बरलाल यादवले माइको ब्याक्टेरियम लेप्रे भन्ने जीवाणुबाट यो रोग सर्ने र २ वर्षदेखि २५ वर्षभित्रमा यस रोगका लक्ष्यणहरु देखा पर्ने कुराको जानकारी गराउनुभयो ।
स्वास्थ्य शाखा सह–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले विगत १० वर्षदेखि उपचारमा रहेका १ सय ६३ जना बिरामी रहेको र रोगीको सम्पर्कमा रहेकाको परीक्षण गरी औषधी खुवाइने कुरा बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी, निर्वाचित जनप्रतिनिधिहरू, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो भने प्रत्येक स्वास्थ्य चौकीका इन्चार्जहरूले सहजीकरण गरेका थिए ।
भोलि २० गते शुक्रवारका दिन प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा कुष्ठरोग मूलक बिरामीको सम्पर्कमा आएका व्यक्तिहरूलाई एक मात्रा रिफाम्पीसिन औषधी प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा खुवाई एलपिइपी कार्यक्रमको शुभारम्भ गरिने स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव सहित, स्वास्थ्य शाखाका कर्मचारी र सञ्चारकर्मी सहितको टोलीले अनुगमन निरीक्षण समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button