ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनौट शुरु, झरनाको विजयी शुरुवात

रुपन्देही । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश छनौट चरणको खेलमा झरना स्पोर्ट्स क्लबले विजयी शुरुवात गरेको छ ।
सनराइज स्पोर्ट्स भलबारीमा बिहीबार भएको उद्घाटन खेलमा झरना स्पोर्ट्स क्लब रुपन्देही विजयी भएको छ । झरनाले आरके एफसीलाई ९–६ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । झरनाको जितमा जितेस गुरुङले ४, मोहन बहादुर थापामगरले ३, शङ्कर राना र सिजन थापाले १–१ गोल गरेका थिए । यसै गरी राधाकृष्ण एफसीका अनुप गुरुङले ३, अनिश शाक्यले २ र किशन गिरिले १ गोल गरेका थिए । खेलमा झरनाका जितेस गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ३ प्रदेशका ८ टिम बिच छनौट खेल हुने संयोजक विनोद गुरुङले बताए ।
प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनौट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भूमि, इन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देहीबिच छनौट हुने उनले बताए । देशभरका सातै प्रदेशबाट छनौट भएका अन्तिम १० टिमले जनही १ लाख क्लब व्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोली चयन हुनेछ । काठमाण्डौमा हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
एन्फाका केन्द्रीय सदस्य दिर्घबहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्दै फुटसलको विकासमा एन्फा अघि बढेको बताए । कार्यक्रममा फुटसल संघका अध्यक्ष रत्नकुमार श्रेष्ठ, कोच संघका अध्यक्ष विनोद लामा, लिग कमिटीका सदस्य दयाराम सापकोटा, लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुन, नवलपुर जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुन, नवलपरासी फुटबल संघका अध्यक्ष धनप्रसाद गुरुङले खेल क्षेत्रको विकास गर्न खेल गतिविधिबाट सहयोग मिल्ने बताए ।








प्रतिक्रिया राख्नुहोस्