कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरू मात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरू मात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गर्नु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरू र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गर्नु भएको हो ।
खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नु पर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनाहरूमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गर्नु भएको हो ।
सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको बताउँदै उहाँले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
प्राथमिकताका आधारमा कार्यक्रमहरू प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औँल्याउनु भयो ।
उहाँले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड(१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरू भन्दा सङ्घीयताको मर्म र भावना अनुसार ठुला र विशेष कार्यक्रममा जोड दिनु पर्ने बताउनुभयो ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरू र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि सङ्कलन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्