डढेलोले वन सखापः देशभर तुवाँलो

तनहुँ । चैत मध्यमै देशभरका वन क्षेत्रका बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । बर्सेनि आगलागीबाट पर्यावरणीय विनाश हुनको साथै करोडको भौतिक तथा मानवीय क्षति हुने गरेको छ ।
तनहुँमा गर्मियाम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएका छन् । तनहुँका दुई वटा ठाउँमा ठुलो मात्रामा आगलागी भएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । सानो सानो आगलागी भने भईरहेको उहाँले बताउनुभयो ।
देशका अन्य जिल्ला मध्ये तनहुँमा कम मात्रामै आगलागी भएको प्रमुख काफ्ले बताउनुहुन्छ । उहाँले भन्नुभयो ’क्षति सम्बन्धि विवरण भने आइसकेको छैन ।’
सब डिभिजन बन कार्यालयहरुलाई चालु आवमा भएको क्षति बारे विवरण पेश गर्न चिठ्ठी काटिएको प्रमुख काफ्ले बताउनुभयो । चालु आवमा व्यास नगरपालिकामा २८.५ हेक्टर क्षेत्रफलमा क्षेती पुगेको डिभिजन बन कार्यालय तनहुँले जनाएको छ । अन्य स्थानको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
तीन वर्षको अवधिमा तनहुँमा आगलागीबाट ९ सय ९९.५ हेक्टर क्षति भएको छ । सबै भन्दा बढी जिल्लाको रिसिङ गाउँपालिकामा क्षती पुगेको डिभिजन बन कार्यालय तनहुँको तथ्याङकले देखाउछ । त्यस्तै सबैभन्दा कम बन्दिपुर र म्याग्दे गाउँपालिकामा डढेलोले क्षती पुगेको छ ।
यस्तै वनबाट सल्केको आगो र घरमै लागेको आगोबाट घर, गोठ, धन्सार, पशुचौपाय बढिको क्षति हुने गरेको छ । गर्मियाम बढ्दै जानु, जङ्गल बिचमा मानव बस्ती भएका कारण पनि आगलागीको जोखिम बढ्दै गएको उनको भनाई छ । नयाँ घास आउने आशमा बनमा डढेलो लगाउने समेत देखिएको प्रमुख काफ्ले बताउछन ।
जिल्लामा ८२, ५४९ हेक्टर वन क्षेत्रले ओगटेको छ । आगलागीका हिसाबले उच्च जोखिममा रहेको यस जिल्लामा वनमा लागको डढेलोबाट बस्तीमा समेत क्षति पुग्ने गरेको छ । आगलागीबाट वन्यजन्तु तथा वन्यजन्तुको वास स्थान समेत सखाप भएको छ ।
आगलागी नियन्त्रणको लागि वन कार्यालय लगायत सरोकारवाला निकायले बर्सेनि उपभोक्ताहरूलाई तालिम, अभ्यास देखि सचेतनाका कार्यक्रमहरू चलाउँदै आइरहेको छ । तरपनि वर्षेनी आगलागी भईरहेका हुन्छन ।
देशभर तुवाँलो
विगत केही दिनदेखि देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ ।तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् बताउछन । पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो ।
तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।
गत वर्ष डढेलो कम हुँदा वन जंगलमा थुप्रिएका पात–पतिङ्गरलाई लामो खडेरीले इन्धनसरह तुल्याएको र आगोको सानो झिल्का भेट्नासाथ ती पात–पतिङ्गर जलेर ठुलो डढेलोको रुप धारण गर्ने अवस्थामा पुगेका कारण पनि यो वर्ष डढेलोको संख्या बढेको डढेलो नियन्त्रण विज्ञ सुन्दर प्रसाद शर्मा बताउँछन् ।
ठाउँठाउँमा डढेलो लागेका कारण धुँवा रुमल्लिएर वायुमण्डलको तल्लो सतहमा जम्मा भएपछि केहीदिन यता देशभरमा राम्ररी घाम लाग्न सकेको छैन ।
हावाको बहावसमेत नहुँदा वायुमण्डलमा बादल, धुवाँ र धुलोका कण स्थिर भएर बसेका कारण राम्रोसँग सूर्यको प्रकाश छिर्न नसक्दा केहीदिन यता तापक्रममा गिरावट आएको छ ।








प्रतिक्रिया राख्नुहोस्