बाँदर आतङ्कबाट बच्न बेसार र अदुवा खेती

तनहुँ । बारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्ने भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का किसानहरू यो वर्षबाट बारीमा बेसार र अदुवा खेती गर्ने भएका छन् ।
बेसार र अदुवा बाँदरले नखाने र उत्पादन समेत वृद्धि हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । त्यसोत बाँदरको आतङ्कबाट जोगिन वडाका किसानहरूलाई वडा कार्यालयले नै अदुवा र बेसारको बिउ वितरण गरिरहेको छ । वडा कार्यालयले उत्पादनमा वृद्धि गराउँदै कृषकलाई आत्मनिर्भर बनाउन बिउ वितरण गरेको जनाएको छ ।
तीन सय ३५ किलो बेसार र ५० किलो अदुवाको बिउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । वडाको अर्चले र न्यारथुमका ३५ जना कृषकलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । खेत बारीमा लगाएको खेती बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बिउ दिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘बेसार र अदुवा बाँदरले खाँदैन । उत्पादन पनि राम्रो हुने भएकाले बिउ वितरण गरेका हौँ ।’
कृषकको आवश्यकता र माग अनुसार बिउ वितरण गरेको बताउँदै उहाँले भन्नुभयो, ‘कृषकको आकर्षण भने देखिएको छैन । वितरण गरेको बिउ सदुपयोग भए नभएको नियमन हुन्छ ।’
कृषक सोमबहादुर कुवरले वडाले अनुदानमा बिउ उपलब्ध गराउँदा राहत मिलेको सुनाउनुभयो । उहाँले मकै कोदो लगाउँदा सबै बाँदरले खाएर भित्र्याउन नपाउने गरेकाले अब ती दुःख र सास्ती खेप्न नपर्ने पर्नेभन्दै खुसी ब्यक्त गरे । उहाँले भन्नुभयो, ‘बेसार अदुवा लगाए धेरथोर उत्पादन हुन्छ की १ ’
वडाले यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्