७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा
काठमाडौँ । सरकारले रूपान्तरणकारी योजनाको रुपमा अघि सारेको कार्यक्रम अन्तर्गत हालसम्म सातै प्रदेशका ७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ ।
सबै स्थानीय तहहरूमा तीनै तहका सरकारहरूको करिब २३ अर्बको लगानीमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य अनुसार ५६ वटा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि प्रति औद्योगिक क्षेत्र ९२ लाखका दरले ५१ करोड ५२ लाख रकम निकासा गरिसकेको उद्योग मन्त्रालयले जनाएको छ ।
गत बर्ष घोषणा भएका सबै औद्योगिक क्षेत्रहरूलाई पूर्वाधार निर्माणका लागि रकम निकासा भैसकेको छ । यस बर्ष घोषणा गर्ने तय भएका १ सय २० मध्ये २९ वटाको घोषणा भई १३ वटाको लागि रकम निकासा भइसकको छ । १६ वटा स्थानीय तहसँग सम्झौता भइरहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाका उप सचिव शान्ता मरासिनीले जानकारी दिनु भयो ।
हाल विभिन्न १५ स्थानीय तहहरूबाट सिफारिस भई आएका १५ वटा औद्योगिक क्षेत्रको घोषणाका लागि प्रस्ताव तयार पारी मन्त्रिपरिषद् समक्ष पठाउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
रकम निकासा लगेका स्थानीय तहहरूले औद्योगिक ग्रामको पूर्वाधार निर्माण अन्तर्गत जग्गा विकास, सडक, खानेपानी, विद्युत्, कम्पाउन्ड वाल लगायतका संरचना निर्माणको काम गरिरहेका छन् । कतिपयले संरचना निर्माण सम्पन्न गरी स्थानीय आवश्यकताको आधारमा उद्योगका लागि ब्लक निर्माणको तयारी समेत अघि बढाएको जनाएका छन् ।
केन्द्र सरकारले पूर्वाधार निर्माणका लागि आवश्यक रकम निकासा गरिसकेकोले स्थानीय सरकार र प्रदेश सरकारले औद्योगिक ग्रामको लागि आवश्यक रकम निकासा गरी निर्माण र सञ्चालनको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । सरकारले १५औ पञ्चवर्षीय योजनामार्फत रूपान्तरणकारी योजनाको रुपमा सबै स्थानीय तहमा एक एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्