तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकको तिर्खा मेटाउन चैनपुरमा ट्याङ्की बन्दै 

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ६ चैनपुरमा झन्डै डेढ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण भइरहेको छ । वडाका विभिन्न स्थानमा रहेका स्थानीयहरूले लामो समयदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्नका लागि ट्याङ्की निर्माण गर्न लागिएको हो ।

यहाँ सङ्कलन गरिने खानेपानी वडाको बेलडाँडा, बरेडाँडा , नौबिसे, ढकाल कुना र चैनपुरका स्थानीयको घर घरमा वितरण गर्ने योजना रहेको खैरेनीटार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी आयोजनाबाट लाभान्वित हुने वडा बासीहरूले घर नजिकै रहेको कुवा तथा मुलमा नै पुगेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो । ट्याङ्की निर्माण पश्चात् घर घरमा जडान गरिएको धारामै पानी आउने भएपछि स्थानीयहरूमा समेत खुसी पलाएको छ ।

विगत २० बर्ष अगाडीदेखि खानेपानी बोकेर जीवन निर्वाह गरेका चैनपुरका खिमबहादुर विकलाई अब भने घरकै धारामा पानी आउने आशा पलाएको छ ।

ट्याङ्की निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले पहिलो चरणमा ४५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै समितिका अध्यक्ष उपाध्यायले आयोजना सम्पन्न गर्नका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । उहाँका अनुसार उक्त आयोजना निर्माणमा स्थानीय उपभोक्ताहरूको समेत १० प्रतिशत लागत सहभागिता रहनेछ ।

शुक्लागण्डकी नगरपालिका वडा न ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलका अनुसार आयोजनाबाट पाँच टोलका करिब एक सय ५० भन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन् ।

एक लाख लिटर क्षमताको खानेपानीको ट्याङ्की निर्माण गर्ने तयारीमा जुटेका स्थानीयहरूले निर्माणको जिम्मा खैरेनीटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई दिएपछि ५० हजार लिटर क्षमता थप गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button