तपाईँ सुन्दै हुनुहुन्छः

होली पर्वले मधेस र पहाडलाई जोड्ने काम गरेको छ : मुख्यमन्त्री राउत

बीरगंज । प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरूको पहिचान भएको बताउनु भएको छ ।

होली पर्वको अवसरमा आज बीरगंजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री राउतले  प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने होली पर्वले सबैलाई एकतामा जोडेको बताउनुभयो ।

उहाँले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने होली पर्वले मधेस पहाडलाई जोडेको र धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीको पहिचान भएको कुरामा जोड दिनुभयो ।

मुख्य मन्त्री राउतले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली पनि प्रभावित भएको र आवश्यक सावधानीसहित आ–आफ्नो घर परिवारमा सीमित भएर होली पर्व मनाउन प्रदेशवासीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले समृद्ध नेपाल निर्माणको अभियानमा होली पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शिक्षा विद् डा.दिपक शाक्य, वरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा ख्यातिप्राप्त कालाकार सञ्जु अमात्य, भोजपुरी गायक सुनिल पण्डित, प्रितम आचार्यलगायत रत्न नगर चितवनको नृत्य केन्द्रका कलाकारहरूले आ–आफ्ना कला प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button