तपाईँ सुन्दै हुनुहुन्छः

जोगिरा होली गीत जोगाउन चन्द्रनगर होली महोत्सव 

चन्द्रनगर । अहिले तराई मधेसमा परम्परागत होली गीतको स्थान हिन्दी र भोजपुरी गीत लिँदै गरेको समयमा जोगिरा सुमधुर होली गीत जोगाउन सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंजमा चन्द्रनगर होली महोत्सव कार्यक्रम गरिएको छ ।
केही वर्ष पहिले जोगिरा गीतले गाउँघर गुन्जायमान हुने गर्दथ्यो । तर, अहिले गीत, ढोलक, मृदङ्ग (मादल जस्तै बाजा) र डम्फुको स्वर बिरलै सुन्न पाइन्छ ।
तराईमा फागु पूर्णिमा अर्थात् होली पर्वमा ढोलक, मृदङ्ग, झ्याली, हार्मोनियमलगायतका वाद्यवादनका साथमा सवाल जबाफ शैलीमा गाइने यस्ता होली गीत र जोगिरा बिस्तारै हराउँदै गएको छ ।
दोहोरी गीत झैँ गाइने जोगिरा र होली गीतका कारण होलीमा तराईको रौनक छुट्टै हुने गर्दथ्यो तर, अहिले ती गीत सुनिन छाडेका हुँदा परम्परागत होली गीत जोगाउन आफूहरूले भोर नेपालको आयोजनामा चन्द्रनगर होली महोत्सव सम्पन्न गरेको भोर नेपालका संस्थापक अध्यक्ष तथा समाजसेवी राजकुमार महतोले जानकारी दिनुभयो ।
आफ्नो संस्कृति र मौलिकता हराउँदै गएको, युवाहरू परम्परागत होली गीतभन्दा हिन्दी, भोजपुरी लगायतको गीतमा आकर्षित हुन थालेकाले पनि परम्परा होली गितमाप्रति आकर्षण गराउनका निम्ति पनि चन्द्रनगर होली महोत्सव आयोजना गरेर उत्कृष्ट टिमलाई पुरस्कृत गरिएको समाजसेवी महतोले बताउनुभयो ।
“गाउँघरमा आजभोलि होलीका सांस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ,” उहाँले भन्नुभयो ।
सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको होलीको मौलिकता जोगाउने तर्फ स्थानीय, प्रदेश एवम्  सङ्घीय सरकारले पनि ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।
चन्द्रनगर होली महोत्सवमा प्रथम स्थान हासिल गर्न सफल चन्द्रनगर वडा नं.२ बबरगंजले लाउडस्पिकर, इमलीफायर, माइक सहितको बाजा सेट प्राप्त गरेको छ ।
त्यस्तै गरी वडा नं. ३ कोरियाही टोलले द्वितीय स्थान  ढोलक र वडा नं. ७ र नाढीमन तथा वडा नं. ५ पोखरीयाका संयुक्त टोली तेस्रो स्थान हासिल गरी डम्फ प्राप्त गरेका छन् ।
विजेता तीन वटै टिमलाई प्रमाणपत्र समेत वितरण गरिएको भोरका अध्यक्ष पच्चु माझी मुसहरले जानकारी दिनुभयो ।
चन्द्रनगर होली महोत्सवमा सहभागी १४ टिम मध्ये बाँकी ११ टिमलाई सहभागिता प्रमाणपत्र तथा कर्ताल प्रदान गरिएको अध्यक्ष मुसहरले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा, नेपाली काँग्रेसका नेता शम्भुलाल श्रेष्ठ, आम जनसमुदायको सहभागितासहित सर्वदलीय प्रतिनिधि, नागरिक अगुवा, कलाकार, सांस्कृतिक अभियन्ता तथा सरकारी र गैर सरकारी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button