तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

अबुधाबी। चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गर्नु भएको छ ।

दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गर्नु भएको थियो ।

त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस कार्यबाट चिनियाँ खोपको विभिन्न देशमा परीक्षण गर्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिड महामारी विरुद्ध लड्न चीन र युएईबीचको साझेदारी नयाँ चरणमा प्रवेश गर्ने पनि बताउनुभयो ।

युएईका विदेश मन्त्री शेख अब्दुल्लाहले चिनियाँ खोपको तेस्रो चरणको परीक्षण कार्यक्रम र खोप उत्पादनको नयाँ प्लान्ट स्थापनाले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।

उहाँले हालसम्म १२० मुलुकभन्दा बढीका ५० हजारभन्दा बढी स्वयंसेवीले चिनियाँ खोपको परीक्षणमा सहभागी भएको जानकारी दिनुभयो । उहाँले चिनियाँ खोपहरु निकै सुरक्षित र प्रभावकारी पनि रहेकाले अन्तर्राष्ट्रिय समुदायले चिनियाँ खोपलाई मान्यता दिइरहेको बताउनुभयो ।रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button