तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप भलिबलको उपाधि मिक्वाखोला गाउँपालिकालाई 

ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न पालिका स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा मिक्वाखोलाले पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेट २५–१८ ले जितेको मिक्वाखोला दोस्रो सेटमा १३–२५ ले पराजित भयो । त्यसपछि तेस्रो र चौथो सेटमा लगातार २५–२२, २५–२२ को हार बेहोरेपछि पाथीभरा याङ्वरक उपविजेता बनेको छ ।

विजेताले विजेताले २ लाख २१ हजार नगदका साथमा कप तथा उप–विजेताले १ लाख ११ हजार नगद प्राप्त गरे । तृतीय बनेका सिरीजंघा र सिदिङ्वा गाउँपालिकाले प्रतिटिम ३३ हजार रुपैयाँ प्राप्त गरे ।

विभिन्न सात विधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत भएका छन् । उत्कृष्ट डिफेन्डर मिक्वाखोलाका दावा नुपु शेर्पा, उत्कृष्ट स्पाइकर सिरीजंघाका मुकेश भटराई, उत्कृष्ट ब्लकर सिदिङ्वाका प्रवीण न्यौपाने, उत्कृष्ट सर्भर मिक्वाखोलाका प्रताप साँवा लिम्बु, उत्कृष्ट लिफ्टर याङ्वरक कैलाश बस्नेत, उत्कृष्ट अलराउण्डर मिक्वाखोलाका आशिस मगर र उदीयमान खेलाडी पाथीभरा याङ्वरकका नवीन तामाङ घोषित भए ।

फुङलिङ बजारस्थित भिमकाली गुल्मको मैदानमा भएको प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहको सहभागिता थियो । जिल्लामै राष्ट्रिय खेलाडी उत्पादन गर्ने  तथा खेलको क्षेत्रको विकास गर्ने लक्ष्यसहित मेयर कपको आयोजना गरिएको नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button