तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा पत्रकारसहित २८ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

काठमाडौँ । नेपाली सेनाले राष्ट्र, जनता र सेनाको बृहत्तर हितमा विशिष्ट योगदान पुर्‍याउने महानुभावलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ ।

सेना दिवस २०७७ का अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले समाजका विभिन्न क्षेत्रका २८ जनालाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गर्नुभएको हो ।

उक्त पदकबाट सम्मानित हुनेमा रेडियो नेपालका समाचार सम्पादक अच्युतराज अर्याल, पूर्व रक्षा सचिव शंकरप्रसाद पाण्डे, भन्सार जाँच पास परीक्षण कार्यालयका सह–सचिव विष्णुराज ढकाल, गैरसरकारी संस्था अक्सफामका लागि क्षेत्रीय सुरक्षा सल्लाहकार चीरनजंग थापा, बेशिसहर नगरपालिका वडा नम्बर २ का अध्यक्ष गणेशबहादुर कंडेल खत्री, चिकित्सक डा.कबिर थकाली र इन्जिनियर फागुसिंह लिम्बु लगायत हुनुहुन्छ ।

सो अवसरमा प्रधान सेनापति थापाले सम्मानले राष्ट्रप्रतिको सेवा भावमा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,  राष्ट्रको हितका खातिर कुनै पनि व्यक्तिले जुनसुकै तह र तप्कामा रहेर पनि सहयोग गर्न सक्छ ।

नेपाली सेनासँग सहकार्य गर्दै आएका मुलुकका सैनिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, सञ्चारकर्मी, समाजसेवी लगायत विदेशी नागरिक र संस्थालाई २०७१ बाट सेनाले प्रशंसा निशानसहित कदर पत्रबाट सम्मान गर्दै आएको छ ।

छिमेकी कतिपय मुलुकमा पनि राष्ट्र र सैनिक सङ्गठनको प्रतिष्ठा र ओज बढाउने कार्यमा उत्कृष्ट योगदान पुर्‍याउने सैनिक तथा गैह्र सैनिक व्यक्तिलाई यस खालको सम्मानसहित कदरपत्र प्रदान गर्ने प्रचलन रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाले यस वर्ष ८२ जना गैर सैनिकलाई यो सम्मान प्रदान गरेकामा ५४ जनालाई  सेना दिवसकै दिन र बाँकी २८ लाई आज प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button