३२ जना एचआइभी सङ्क्रमितलाई आर्थिक सहयोग

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एचआइभी सङ्क्रमितहरूका लागि जीवन निर्वाह तथा वार्षिक पोषण कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरिएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिका भित्रका १० जना पुरुष र २२ महिला गरी ३२ जना एचआइभी सङ्क्रमितहरूलाई जीवन निर्वाहका लागि प्रति व्यक्ति ४ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख वसन्त रावलले बताउनुभयो ।
३२ जनालाई १ लाख ४४ हजार रुपैयाँ वितरण गरेको स्वास्थ्य शाखाले जनाएको छ । हाल बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा १ जना, वडा नं २ जनालिकोटमा ६ जना, वडा नं ३ वरदादेवीमा १२ जना, वडा नं ४ तिमिल्सैनमा ७ जना, वडा नं ५ कालिकामा ३ जना र वडा नं. ६ दर्नामा ३ जना एचआइभी संक्रमित रहेका बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखा रावलले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफूहरू एचआइभी सङ्क्रमितहरूका लागि सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । गाउँपालिकाले विभिन्न कार्यक्रम मार्फत एचआइभी सङ्क्रमितहरूलाई समेट्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिई सङ्क्रमितहरूलाई सहज रुपमा जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम गरेको बताउनुभयो ।
सहयोग वितरणमा वडा नं ४ का वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाले एचआइभी सङ्क्रमितहरूले पोषण युक्त खानेकुरा खान तथा उच्च मनोबल राख्न आग्रह गर्नुभयो । रोग नलुकाई खुलेर आउन, सङ्क्रमितहरूलाई आय आर्जनमुखी कार्यमा लाग्न, समाजमा हुने सामाजिक क्रियाकलापमा सहभागी हुन सुझाव दिनुभयो ।
एचआइभी सङ्क्रमितहरूको क्षेत्रमा लामो समयसम्म सक्रिय रुपमा लागेकी एचआइभी संक्रमित महिला गङ्गा थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उहाँले एचआइभी संक्रमित विभिन्न समस्याको सामना गर्न बाध्य भएको भन्दै गाउँपालिकाले गरेको सहयोगबाट राहत मिलेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्