तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा ३१२८ जना क्षयरोगका बिरामी

अछाम । अछाम सहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ३ हजार १ सय २८ जना क्षयरोगी रहेको पाइएको छ । चालु आर्थिक बर्ष २०७७/७८ को फागुन सम्म मात्रै यस प्रदेशमा १ हजार ६ सय ९१ जना थप नयाँ क्षयरोगका संक्रमित फेला परेको पाइएको छ ।
सबैभन्दा बढी कैलालीमा ९ सय ८० र कम दार्चुलामा ३१ जना नयाँ क्षयरोगी फेला परेका हुन् । बाजुरामा ७४ जना, बझाङमा ९४ जना, बैतडीमा १ सय ६ जना, डडेलधुरामा ७६ जना, डोटीमा १ सय ११, अछाममा ८१ जना र कञ्चनपुरमा ४ सय ३८ जना क्षयरोगी थपिएका प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अछाम जिल्लामा भने ८१ जना क्षयरोगका नयाँ बिरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
जिल्लाका १० स्थानीय तहमध्ये साँफेबगर नगरपालिकामा सबैभन्दा बढी १८ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । यस्तै पञ्चदेवल विनायक नगरपालिकामा ७ जना, रामारोशन गाउँपालिकामा ९ जना, मेल्लेख गाउँपालिकामा ११ जना, चौरपाटी गाउँपालिकामा ७ जना नयाँ क्षयरोगी फेला परेका छन् ।
यसै गरी मङ्गलसेन नगरपालिकामा ११ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ६ जना, कमलबजार नगरपालिकामा ३ जना र ढकारी गाउँपालिकामा ८ जना र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकामा १ जना नयाँ क्षयरोगका बिरामी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button