तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध दुर्व्यसनी विरुद्धको अभियानमा जुम्ला प्रशासन

लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम ।

जुम्ला । सडकको विकाससँगै जुम्लामा लागु औषध दुर्व्यसनीमा युवाहरू फस्दै गएका छन् ।

गलत साथीको सङ्गत, सीमा नाकामा चेक जाँचको अभाव तथा अभिभावको लापरबाहीका कारण युवाहरू लागु औषधको दुर्व्यसनीमा फस्दै गएका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पछिको दोस्रो ठुलो सहर जुम्लामा लागु औषध दुर्व्यसनीको समस्या बढ्दै गएपछि युवा, विद्यार्थीलाई दुर्व्यसनीबाट बचाउन प्रहरी प्रशासन जुटेको छ ।

लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध दुर्व्यसनी विरुद्ध अभियान थालेको छ ।

विद्यालय स्तरबाटै बालबालिकालाई सचेत गराउन जिल्लाका विभिन्न विद्यालयमा लागु औषध विरुद्ध सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

उहाँका अनुसार सोमबार चन्दननाथ माविका सयाँै विद्यार्थीको सहभागितामा लागु औषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम गरिएको छ ।

यस अघि कर्णाली प्राविधिक शिक्षालयमा पनि सचेतना कार्यक्रम गरिएको थियो ।

सडकको विकाससँगै युवाहरू लागु औषधको कुलतमा फस्दै गएकोले प्रशासनले  विद्यालय, ट्युसन सेन्टर, समुदाय, टोल र बस्तीसम्मै पुगेर सचेतना कार्यक्रम गर्न थालेपछि स्थानीय उत्साहित छन् ।

यसैबीच सोमबार प्रशासनको आयोजनमा लागु औषध दुर्व्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने असर, शिक्षा, स्वास्थ्य रोजगारका क्षेत्रमा पार्ने असरका बारेमा सचेत गराइएपछि विद्यार्थी उत्साहित भएका छन् ।

चन्दननाथ माविका विद्यार्थीले लागु औषध प्रयोग नगर्ने, गरेको देखिए प्रहरीलाई सूचना दिने समेत प्रण गरेका छन् ।

लागु औषधले स्वास्थ्यमा पार्ने असर प्रयोग गरेको भेटिए हुने कानुनी कारबाही र सजायका बारेमा समेत सिकाइएको डिएसपी दान बहादुर थापाले बताउनुभयो ।

लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम ।

सभ्य समाज, सृजनशील समाज निर्माणका लागि युवा सक्षम हुन आवश्यक छ । अभिभावकै लापरबाहीले अधिकांश युवा बालबालिका दुर्व्यसनीमा परेकोले आफ्ना बालबालिकाप्रति बढी उत्तरदायी हुन समेत अभिभावकलाई सम्झाइएको छ

देश विकास गर्ने  कुशल जनशक्ति भनेकै युवा हो । तर उनै युवाहरू लागु औषध दुर्व्यसनीमा फसेर जघन्य अपराधका क्रियाकलाप गर्ने गाउँ समाजलाई बिगार्ने समस्या छ ।

प्रशासनले बेलैमा सचेतना कार्यक्रम गरेकाले केही सुधार हुने चन्दननाथ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण रोकायाले बताउनुभयो ।

दुर्व्यसनीबाट युवालाई मुक्त गर्न स्थानीय सरकारले युवा रोजगारीका कार्यक्रम ल्याउन समेत उहाँको सुझाव छ ।

प्रहरी प्रशासनले सचेतनामूलक कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकलाई लागु औषध विरुद्धको सचेतना र कानुनी ज्ञानका विषयमा सचेतना गरिएको छ ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले उल्लेख गर्नुभयो ।

पछिल्लो समय समुदाय प्रहरी साझेदारी कार्यक्रम र प्रशासनको आयोजनमा गाउँ गाउँमा तथा विद्यालयमा सामाजिक हितका विभिन्न कार्यक्रम अभियानकै रुपमा अघि बढेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button