तपाईँ सुन्दै हुनुहुन्छः

महिलाहरूले सञ्चालन गरेका उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड

काठमाडौँ । महिलाहरूले सञ्चालन गरेका उद्योग व्यवसायलाई थप प्रोत्साहन सहित देशव्यापी विस्तार गर्नु आवश्यक भएकोमा काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घले आयोजना गरेको सहकारीमा महिला समावेशिता विषयक राष्ट्रिय गोष्ठीमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक चेतना वृद्धि गर्ने विषयमा सहकारीको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री महतोले महिलाहरू सहकारी मार्फत उत्पादनमा जोडिएकाले महिलाबाट सञ्चालित उद्योग व्यवसायलाई अझ ठूलो बनाएर विस्तार गर्नु आवश्यक भएकोमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले महिलाहरू क्रमिक रुपमा अधिकार दिने भूमिकामा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष मीनराज कँडेलले ७० वटा जिल्ला सहकारी सङ्घमध्ये ३ वटामा महिला अध्यक्ष रहेकोले त्यसबाट अन्यमा समेत महिलालाई नेतृत्वमा स्थापित गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महिलारुबीच निर्णय प्रक्रिया र ज्यालामा समानता हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सांसद डा विमला राई पौडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, लगायतले महिला समावेशिता र सहभागिताले मात्र मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button