तपाईँ सुन्दै हुनुहुन्छः

लक्की ड्र परेको भन्दै १२ लाख ठगी गर्ने युवक पक्राउ

वीरगंज । लक्की ड्र परेको भन्दै १२ लाख ठगी गर्ने एक युवकलाई आज प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २२ भवानीपुर निवासी २२ वर्षीय कृष्णकुमार तत्वा रहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
सखुवाप्रसौनी गाउँपालिकाको कटेया देउरवाना निवासी नुरजहा खातुनसँग एक महिनाभित्र पटक–पटक गरी १२ लाख रुपैयाँ ठगेको आरोपमा तत्वालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
पीडितका पति विदेशमा रहेको र उनले पठाएको रकम पटक–पटक गरी अहिलेसम्म ११ लाख ७० हजार आइएमई मार्फत तत्वा र राणा प्रताप लगायत १२ जनाको खातामा हालेको प्रमाणको आधारमा तत्वालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनु भयो ।
खातुनको मोबाइलमा दुई महिनाअघि ५० लाख चिट्ठा परेको भन्दै त्यसको कर बुझाए मात्र सो रकम तपाईँको खातामा जाने बताएपछि उनले भोलिपल्ट नै १ लाख २० हजार रुपैयाँ ठगहरूले भनेको ठाउँमा आइएमई मार्फत खातुनले पठाएकी थिइन् ।
ठगको जालमा परेकी खातपनले आफ्नो पतिलाई पनि घटनाबारे जानकारी  नगराई उनको घरमा रहेको अन्य सम्पत्ति समेत बेचेर पहिला फसेको रकम निकाल्न उनले पटक–पटक रकम दिएको बताएकी छन् ।
अन्तिम समयमा तत्वाले अन्तिम पटक ७० हजार दिए तपाईंले पहिले दिएको रकमसहित ५० लाख दिने बताएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन् । छपकैयामा रहेको मामाघरमा पुगेर खातपनले सबै घटना बताएपछि मामाले प्रहरीमा उजुरी गरेको र सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक पाण्डेका अनुसार पक्राउ परेका तत्वाले ठगी गरेको प्रमाण भेटिएको र सो घटनामा नेपाल–भारतका १२ जना दोषी रहेको र उनीहरूको खोजतलास भई रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button