मिथिला परिक्रमाका तीर्थयात्री महोत्तरीको ध्रुवकुण्डमा
जनकपुरधाम । पन्ध्र दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्री महोत्तरीको प्रसिद्ध धार्मिक स्थल ध्रुवकुण्डमा आइपुगेका छन् ।
मडईवाट बिहान मिथिला विहारी अर्थात् भगवान् राम तथा किशोरीजी अर्थात् माता सीताको डोलासँगै हजारौँ तीर्थयात्रीहरू श्रीसीतारामको जयजयकार गर्दै ध्रुवकुण्ड आइपुगेका हुन् । भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नु अगाडी सो ठाउँमा ध्रुवको रुपमा तपस्या गरेको इतिहास रहेको छ । अहिले पनि उक्त ठाउँमा पोखरी जस्तो कुण्ड रहेको जसलाई ध्रुव कुण्ड भनिएको छ ।
जनकपुरधामको हनुमानगढीवाट शुरु भएको १५ दिने मध्यमा मिथिला परिक्रममा सहभागीहरू भोलि कञ्चनवन पुग्ने कार्यक्रम रहेको छ । कञ्चन वनमा होली खेल्ने चलन रहेको छ । भगवान् राम र सीता पनि कञ्चन वनमा होली खेलेको पौराणिक होली सम्बन्धी गीतमा पनि सो कुरा उल्लेख रहेको छ ।
नेपाल भारतको हजारौँ तीर्थयात्री सहभागी रहेको १५ दिने मध्यमा मिथिला परिक्रमाको हरेक पडाव स्थलहरूमा विभिन्न सामाजिक सङ्घ संस्था तथा स्थानीय पालिकाहरूले पण्डाल, टेन्टको निर्माण, निःशुल्क पेय पदार्थ, भोजन तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
मिथिला परिक्रमाका सहभागीहरू खाली खुट्टा निक्कै श्रद्धाभक्तिपूर्वक भजन कीर्तन गर्दै नेपाल तथा भारतको १ सय ३३ किलोमिटरको दूरी पैदलै पुरा गरेर फागु पूर्णिमा भन्दा एक दिन अगावै जनकपुरधाम आएर पूर्णिमाका दिन अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्किएर होली खेल्ने गर्दछन् ।
परिक्रमाका कारणले नै प्रत्येक वर्ष तराई मधेसका जिल्लाहरूमा एक दिनपछि मात्र होली खेल्ने चलन रहेको छ । खास गरेर यसमा सन्त, महन्त, योगी सन्न्यासी, भिक्षु भिक्षुणी तथा गृहस्थ आश्रमका महिला एवं पुरुषहरू सहभागी हुने गरेका छन् ।
बृहत् जनकपुर क्षेत्र विकास परिषद्ले पनि परिक्रमाका पडाव स्थालहरुमा विभिन्न प्रकारको सेवा तथा सुविधाहरू प्रदान गरेको कार्यकारी निर्देशक बलराम ठाकुरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्