तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानको हत्या आशङ्कामा श्रीमती पक्राउ

बागलुङ । आफ्नै श्रीमानको हत्या आशङ्कामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । छोरासँग मिलेर श्रीमानको हत्या गरेको हुनसक्ने आशङ्कामा प्रहरीले जिल्लाको गलकोट नगरपालिका वडा नं. ४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीलाई नियन्त्रणमा लिएको हो । उनले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरेको प्रहरी आशङ्का छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गत चैत १ गते राती घरमा विवाद हुँदा आमा छोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।
कुटपिटबाटै सार्कीको निधन भएको आशङ्का गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानबिन शुरु गरेको थियो । घटना अनुसन्धानकै क्रममा रहे पनि आमा छोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले आमा छोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो  ।
धन बहादुरले दिनहुँ मदिरा सेवन गर्ने भएकाले घर झगडा हुने गरेको छिमेकीले बताएका छन् । मदिराका कारण हत्या भएको हुनसक्ने डिएसपी हवारीले बताउनुभयो ।
आमा छोरा मिलेर हत्या गरेको भन्दै मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएपछि प्रहरीले मृतकका श्रीमती कुमारी र छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button