इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल : आर्मी र एपीएफको लगातार दोस्रो जित

इलाम । इलाममा जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा विभागीय टिमहरू त्रिभुवन आर्मी र एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।
इलाम सदरमुकामको ठुलो टुँडिखेलमा आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको हो ।
आर्मीले गौरादह नगर खेलकुद विकास समिति झापालाई ३–२ को सेटमा पराजित गरेको हो ।
दोस्रो र तेस्रो सेट गुमाएको आर्मीले पहिलो, चौथो र पाँचौँ सेटमा पुनरागमन जित निकालेर प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
पहिलो सेटमा २५–२० को सेटमा विजयी बनेको आर्मी दोस्रो र तेस्रो सेटमा लगातार २२–२५ र २३–२५ को सेटमा पराजित बन्न पुग्यो । तर चौथो र पाँचौँ सेटमा लगातार गौरदाहमाथि हाबी बन्दै २५–१४ र १५–८ को सेटमा विजयी बनेको हो ।
पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स बिर्तामोड झापालाई ३–२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
आर्मीसँग पराजित भएसँगै गौरादहको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।
गौरादहको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकी प्रदेशसँग ३–शून्यको सोझो सेटमा पराजित भएको थियो । आर्मी भने समूह ए बाट २ खेल जित्दै शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगिताको दोस्रो खेलमा समूह बीको विभागीय टोली एपएिफ क्लबले पनि दोस्रो जित निकालेको छ ।
एपएिफले दमक नगर भलिबल क्लबलाई ३– १ को सेटमा हराएर लगातार दोस्रो जित निकालेको हो ।
दोस्रो सेट गुमाएको एपिएफले पहिलो तथा तेस्रो र चौथो सेट जित्दै प्रतियोगितामा आफ्नो यात्रालाई अघि बढाएको हो ।
पहिलो सेटमा २५–२१ को सेटमा विजयी भए पनि दोस्रो सेटमा दमकले २५–२२ को सेट जितेको थियो । तर तेस्रो र चौथो सेटमा एपिएफले क्रमशः २५–१२ र २५–१९ को सेटमा जितेको थियो । समूह बि बाट एपीएफ पनि शीर्ष स्थान उक्लिएको छ ।
एपीएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
आज नै भएको तेस्रो खेलमा विमान ट्रेडर्स बिर्तामोड झापाले पहिलो जित दर्ता गरेको छ ।
पहिलो खेलमा आर्मीसँग पराजित बनेको विमानले डिफेण्डिङ्ग च्याम्पियन गण्डकी प्रदेशलाई ३– शून्यको सोझो सेटमा हराएको हो ।
पहिलो सेट २५–२० ले जितेको बिमा नले दोस्रो र तेस्रो सेटमा २५–२३, २५–२३ को सेटमा जितेको हो । पहिलो खेलमा गण्डकी प्रदेशले गौरादह भलिबल क्लब झापालाई हराएको थियो ।
जिल्ला भलिबल सङ्घ इलामले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत ८ गते हुनेछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने जारी प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद विकास समिति र गण्डकी प्रदेश छन् ।
समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्